fbpx

मैले सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हुँ : सभापति देउवा

कञ्चनपुर, ३० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदाररूपमा उठाएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् ।

वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्तरुपमा उठान नगरेको आरोप लगाउँदै देउवाले भने, ‘कालापानी नेपालको भू–भाग हो । मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु ।’

महाकाली सन्धीमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उनले महाकालीको पानी पनि आधा–आधा हुने सन्धीमै स्पष्ट रहेको बताए । सभापति देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताए । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए ।

सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए । उनले भने, ‘कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो । सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।’

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

Loading...