fbpx

अफिसको कुर्सीमा बसीबसी यसरी गर्नुहोस् व्यायाम

विराटनगर, २९ कात्तिक । लामो समयसम्म एकै ठाउँमा, एउटै पोजिसनमा बसेर काम गर्ने मानिसहरूको शरीर तथा मस्तिष्कमा रगतको सञ्चार राम्रोसँग हुने गर्दैन । दिनभर अफिसको कुर्सीमा बसेर काम गर्ने हुँदा शरीर तथा मस्तिष्कमा राम्रोसँग रगतको सञ्चार नहुनुको परिणाम निकै घातक हुन सक्छ ।

लिभरपुल जोन मोरेस विश्वविद्यालयको जर्नल अफ एप्लाइड फिजियोलोजीमा छापिएको एक रिपोर्टमा उल्लेख गरिएअनुसार अफिसको कुर्सीमा दिनभरि काम गरेर बस्दा घाँटी, कम्मर र ढाड दुख्ने समस्याका साथ साथै शरीरमा विभिन्न समस्याहरू देखा पर्न सक्छ ।

अफिसमा काम गर्दा ब्रेक लिएर केही समय कम्पाउण्डमा गएर हिँड्नु पर्छ । तर, कहिलेकाँही यस्तो गर्नु सम्भव हुँदैन । अफिसको कुर्सीमा बसीबसी दैनिक १० मिनेट जति व्यायाम गर्ने हो भने स्फूर्ति हुने मात्र होइन, स्वास्थ्य पनि बिग्रन पाउँदैन ।

सुरुमा त बसाइमा पनि भर पर्छ । काम गर्दा काँध र कम्मर झुकाउने गरी बस्दा काँध, गर्दन र मेरुदण्डको हाडका भार पर्ने हुँदा समस्या आउन थाल्छ । त्यसैले अफिसमा हरेक समय कुर्सीमा बसेर काम गर्ने व्यक्तिहरूले सिधा बसी हरेक घण्टा केही समय ब्रेक लिएर २ मिनेट हिँड्ने बानी बसाउनु पर्छ ।

कम्प्युटरको अगाडि काम गर्नेहरूले आँखा तथा हातले धेरै काम हुने हुँदा आँखा र हातको व्यायाममा एकदम ध्यान दिनु पर्छ । काम गर्दै गर्दा आँखाको नानीलाई दायाँबायाँ, तलमाथि अनि गोलो गरी घुमाएर दश सेकेन्डसम्म छतमा हेरिरहनु पर्छ । त्यसपछि भुइँमा अनि अलि परको भित्तोमा हेरेर आधी मिनेटका लागि आँखा बन्द गरेर रिल्याक्स भएर बस्नु पर्छ ।

त्यसपछि हत्केला घोटेर तताएर आँखामाथि १० सेकेन्डसम्म राखी अनुहारमा दल्नुपर्छ । काम गर्दा गर्दै एता उता हेरेर घाँटी र हात खुट्टा बिस्तारै चलाएर हातखुट्टाको व्यायाम गर्नु पर्छ । दाहिने गोडालाई देब्रे गोडामा र देब्रे गोडालाई दाहिने गोडामा क्रस गरेर बसी कम्मरलाई विपरीत दिशामा घुमाउने गर्दा काम गरेको समयमा कम्मर अररो हुन पाउँदैन ।

त्यसपछि मुख फुलाएर हावा भरी हावालाई केही सेकेन्डसम्म दायाँबायाँ घुमाउने गर्दा मुखको पनि व्यायाम हन्छ । अल्छि लागेको समयमा दुवै कानलाई माथि र तल तीनचोटि तान्ने गर्दा पनि शरीरमा अक्सिजनको फ्लो भइ आलस्य पनि भाग्छ ।

Loading...