fbpx

प्लास्टिकजन्य भाँडाले महिला र बालबालिकालाई बढी असर गर्छ

विराटनगर, २९ कात्तिक । प्लास्टिकजन्य भाँडाले महिला र बालबालिकालाई बढी असर गर्ने गर्छ । प्लास्टिकको धेरै प्रयोग गर्दा यसले शरीरको कुनै एक भाग मात्रै नभएर पूरै बनावटलाई नै परिवर्तन गराउन सक्छ । प्लास्टिक वा प्लास्टिकजन्य भाँडाका कारण गर्भवती महिला तथा बालबालिकाहरूको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ ।

प्लास्टिकका भाँडामा पाइने रसायनले कमजोर प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूलाई बढी हानि गर्ने गर्छ । प्रतीरक्षा प्रणाली कमजोर हुने साना बालबालिका तथा गर्भवती महिलाहरूलाई यसले बढी असर गर्छ । प्लास्टिकमा पाइने विभिन्न रसायनले बालबालिका तथा आमाको गर्भमा भएको शिशुलाई बढी हानि पुर्याउने गर्छ ।

महिलाहरू गर्भवती हुँदा शरीरका धेरै हर्मोनहरूमा परिवर्तन आउने भएको हुँदा उनीहरूको प्रतीरक्षा प्रणाली पनि कमजोर भएको हुन्छ । यस्तो समयमा यी हानिकारक केमिकलहरूको प्रयोग बढी भएमा प्रजनन् क्षमतामा असर पर्न गइ जन्मिएको बच्चा अपाङ्ग पनि हुनसक्ने डाक्टरहरू चेतावानी दिँदै आएका छन् । प्लास्टिकका कारण जन्मेका बच्चाहरूमा मानसिक पक्षघात, शारीरिक अपाङ्गता, मुटुसम्बन्धी रोग आदि देखा पर्न सक्छ ।

प्लास्टिक वा प्लास्टिकजन्य भाँडामा पाइने विभिन्न रसायनले ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि विभिन्न रोगहरू निम्त्याउन सक्छ । गर्भवती महिला र बालबालिकालाई यसले आँखा, पेट, फोक्सो तथा मिर्गौला आदिलाई पनि असर पुर्याउने गर्छ । त्यस्तै, वयस्क वा गर्भवति महिलाहरूमा स्तन क्यान्सर तथा अन्य महिला र पुरुषहरूमा मधुमेह, मुटुसम्बन्धी रोग, घाँटीको क्यान्सर, धेरै रिस उठ्ने र प्रजनन क्षमतामा समेत असर गर्ने गरेको विभिन्न अनुसन्धानहरूले पुस्टि गरिसकेको छ ।

Loading...