सन्तुष्टिको घेराबन्दीमा मानिस

sdf
मदन लिम्बू

जीवन संघर्ष हो भनिन्छ । हाम्रो समाजमा परिश्रमबिनाको जीवनलाई विभिन्न लान्छानायुक्त शब्दहरूद्वारा परिभाषित गरिन्छ । बेरोजगारी र आवारापनको संज्ञा दिइन्छ । आधारभूत जीवन जिउनका लागि पनि हरेक मानिसले जीवनमा केही अर्थपूर्ण काम गर्नुपर्छ भन्ने धारणा बोकेको हुन्छ ।

असल काम गरी राम्रो आयआर्जन गरौं भन्ने विचार नभएका मानिस सायद नहोलान् । यो विचार परिवारबाट सम्प्रेषण हुन सुरु गर्दछ । ‘हेर छोरा–छोरी; तैंले राम्रो काम गर्नु पर्छ । राम्रो बोलिवचन बोल्नु पर्छ । समाजमा मान प्रतिष्ठाको ख्याल राखी राम्रो काम गर्नु पर्छ ।’

शैक्षिक क्षेत्रतिर हेर्ने हो भने, मेहेनत गर्नु पर्छ, राम्रो पढ्नु पर्छ, पहिलो स्थान प्राप्त गर्नुपर्छ, अथवा दोस्रो, तेस्रोसम्मका प्रसंग चल्छन् । चाहे त्यो शिक्षित अभिभावक होस् या फेरि अशिक्षित आफ्नो सन्ततिलाई राम्रो गर्नु पर्छ भन्ने सल्लाह दिन बाँकी राख्दैनन् ।

यहाँ प्रथम, द्वितीय, तृतीय तुलनाद्वारा छुट्याइन्छ, त्यसकै प्रसंग धेरै चल्छ । सर्वोत्कृष्ट, विशिष्ट अथवा सर्वोत्तम् बन्नुपर्छ भन्ने प्रसंग कम नै सुनिन्छ । र, बिडम्बना धेरैले सर्वोत्कृष्ट, विशिष्ट अथवा सर्वोत्तम् बन्न कोशिशसम्म गर्दैनन् किनकी प्रथम द्वितीय, तृतीयमै सन्तुष्ट हुन्छन् । कतै यो सन्तुष्टिले मानिसमा भएको सर्वोत्तम सृजना र क्षमतालाई सीमित घेराबन्दीभित्रै निरुत्साहित गर्दै त छैन ?

हरेक मानिसको जीवन सुरुवातको क्षण नियालौँ, त्यो बालापनमा अर्को शब्दमा अपरिपप्क अवस्थामा पनि प्रतिदिन केही विकास भइरहेको देख्न पाईन्छ । नयाँ कुरा सिकिरहेको हुन्छ । केही परिवर्तन गर्न प¥यो भने त्यो परिवर्तन पनि सहजै देख्न पाइन्छ । त्यो बालापनको क्षणमा उसले साना–ठूला सबै सपना बुन्दछ । ठूलै सपना पनि उसलाई ठूलो महसूस हुँदैन ।

आफू राजारानी भएको, कहिले राजकुमार राजकुमारी भएको त कहिले नायक, डाक्टर, पाइलटदेखि लिएर विचारको सुन्दर महलमा धुमधामसँग आफ्नै सहपाठीहरूसँग दुलहा–दुलही भएकोसम्म परिकल्पना गरी आफ्नो जीवनमै महसूस गर्दै खुशीको पल बिताउँछ ।

यसबाट यो प्रमाणित हुन्छ इच्छाशक्ति र परिकल्पनाशक्तिद्वारा नै जीवनमा सफलता प्राप्त हुन्छ । हामीले एक एक जोडेर दुई हुन्छ भन्ने पनि धेरै पटकको कोसिसबाट सिकेका हौँ । क ख लेख्न र पढ्न सयौँ पटक अभ्यास गरेरै सफल भएका हौँ । तर समय परिवर्तनसँगै मानिस बालापनबाट वयस्क उमेर समूहमा प्रवेश गर्दछ । आफू स्वयमले भन्ने गर्छ; ‘अब म सानो छैन, म आफैँ केही गर्न सक्छु ।’

यसको नतिजा स्वरुप पहिले बालापनमा दिइने उपदेशहरू पातलिँदै जान्छन् । उसको परिकल्पनामध्येका केही काम गर्न सुरुवात गर्दछ । कोही पहिलो पटकनै असफल भएर निराशामा फेरि हार खाने हिम्मत राख्दैनन् अर्थात् फेरि नयाँ प्रयास गर्न चाहँदैनन् । धेरै चुनौतीहरू सामना गर्न चाहँदैनन् किनकी आफूभित्र हार खानुको भय भयंकर हुन्छ ।

परिवार, समुदाय र विद्यालयमा वर्षौँ पाएको शिक्षा पनि त्यहीँ हो, कुनै पनि काममा वा पढाइमा प्रथमनै हुनुपर्छ । असफल हुनु वा कक्षामा अनुत्तीर्ण हुनु खराब हो भन्ने मानसिकताको विकास भएको हुन्छ । नतिजा स्वरुप असफल मानिसहरूका लागि सम्मान र सहानुभूति पैदा गर्न अधिकांश मानिसहरूलाई कठिनाइ बन्न जान्छ । त्यसकारण अधिकांश मानिस अब बिनाचुनौतिका वा कम चुनौति भएका काममा ध्यानाकर्षण गर्दछ । जीवनलाई हरेक क्षेत्रबाट सुरक्षित भएको महसुस गर्न चाहान्छ । त्यसका लागि उसले आफ्नो परिपक्वताअनुसार मात्र काम गरी जीवन सहजतामा जिउन चाहान्छ ।

आर्थिक दृष्टिकोणबाट नियाल्दा अधिकांश मानिसहरूले माषिक १०–१५ देखि ४०–४५ हजार आर्जन गर्छन् । धेरै पटक मानिसहरूले काम गर्ने क्रममा ठूला चुनौति लिन नचाहेर सहज कामसँगै सीमित सेवा सुबिधाहरूसँग सम्झौता गरी जीवनयापन गरिरहेका हुन्छन् । बेरोजगार हुनुभन्दा १०–१५ हजार आर्जन गर्नु राम्रो हो ।

१०–१५ हजारभन्दा ४०–४५ हजार आर्जन गर्नु राम्रो हो । तर, बिडम्बना एउटा आरामदायी क्षेत्र पुग्न थालेपछि मानिसको स्वभावमा परिवर्तन आउन थाल्छ । उसको सफलताप्रतिको तीब्रता बिस्तारै घट्दै जान्छ । किनकी ऊ अब चुनौतिको सामना गर्न चाहँदैन । आफ्नो आराम (कम्फर्ट जोन) बाट बाहिर निस्कन चाहँदैन । उसलाई मध्यमस्तरको जीवन स्वभाविक नै लाग्छ किनकी अधिकांशलाई उसले त्यहीँ देख्छ ।

त्यसरी एउटा आराम क्षेत्रमा सीमित रहन जाँदा ऊभित्र भएका कैयौँ सृजना र प्रतिभाहरू बिस्तारै ह्रास भएर जान्छन् । कति पटक ४०–४५ हजार आर्जन गर्ने मानिसको क्षमता र सृजना लाखौँ, करोडौँको हुन सक्छ तर त्यहीँ कम्फर्ट जोनले वा असफल हुनुपर्ला भन्ने त्रासले विभिन्न परिवन्धहरूसँग बाँधिएर अन्जानमै ऊसँगै ती क्षमता र सृजनाहरू सक्किएर गइरहेको हुन्छ ।

सुरक्षाको दृष्टिकोणले हेर्दा एउटा पानी जहाज बन्दरगाहमा नै पूर्णतः सुरक्षित रहन्छ तर त्यो बन्दरगाहमा सुरक्षित रहनभन्दा पनि समुद्री तुफान र छालहरूसँग लहरिँदै, त्यसको सामना गर्दै आफ्नो गन्तव्यसम्म पुग्नलाई निर्मित भएको हो ।

त्यसरी नै हरेक मानिसले आफू सुरक्षित रहनका लागि आफूभित्र भएका विविध सृजना र क्षमता नयाँ क्षेत्रमा प्रस्फुटन नगरी सेलाउन दिनुभन्दा जीवनमा पाएको अनमोल सृजनाका क्षमताहरू निरन्तर सर्वोत्कृष्ट रूपमा रुपान्तरण गर्दै जानु हो भने हाम्रो सभ्यता र विकासले अझै तीब्रता लिने थियो ।

Loading...