fbpx

भन्सार छलेर कपडा ल्याउन खोज्दा सरकारी गाडी सहित वडाध्यक्ष पक्राउ

विराटनगर २८ कात्तिक । नगरपालिकाको सरकारी गाडीमा अवैध कपडा ओसार पोसार गरेको आरोपमा भन्सार कार्यालय विराटनगरका कर्मचारीले एक वडाध्यक्षलाई पक्राउ गरेका छन् ।

सप्तरीको अग्निसाइर कृष्णासवरन विराटनगर गाउँपालिकाको गाडीमा अवैध कपडा ओसार–पोसार गरेको आरोपमा वडा नम्बर ४ का वडाध्यक्ष तेजनारायण यादवलाई पक्राउ गरेको हो । उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजार बढी मूल्यका सामानसहित भन्सार कार्यालयले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

सरकारी गाडीमा भन्सार छलेर कपडा लैजान लागेको अवस्थामा कर्मचारीले चेकजाँच गर्ने क्रममा फेला पारेका हुन् । जोगवनीबाट केही कपडा, साडी तथा लत्ताकपडा लैजान लागेको थाहा पाएर कर्मचारीले गाडी भन्सारले नियन्त्रणमा लिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले बताए ।

वडाध्यक्ष यादवले भने मंसिर ४ गते हुन लागेको आफ्नो छोरीको विवाहका लागि केही कपडा लैजान लागेको बताए । छोरीको विवाह हुँदैछ, त्यसको लागि किनमेल गरेर फर्किने क्रममा कर्मचारीले नियन्त्रणमा लिएको उनको भनाई छ । गाडीमा साडी ५ थान, बेहुलाको सुटको कपडा, सिरक तथा खाद्यान्नका सामाग्री आफूले किनेको वडाध्यक्ष यादवले बताए ।

Loading...