fbpx

स्पेनिस सुपरकप साउदीमा

विराटनगर २८ कात्तिक । स्पेनिस सुपरकपको आगामी तीन वर्षका खेल साउदी अरबमा आयोजना हुने भएको छ । स्पेनिस फुटबल फेडेरसनले साउदीलाई तीन वर्ष प्रतियोगिता आयोजनाको जिम्मेवारी प्रदान गरेको हो ।

साउदीमा हुने खेलको पहिलो संस्करण जनवरी ८ देखि १२ सम्म हुनेछ । खेल बापत साउदीले स्पेनिस फुटबल फेडेरेसनलाई १ सय २० मिलियन पाउन्ड दिनु पर्ने छ । तर साउदीलाई सुपरकप अयोजना दिने निर्णयको सरकारी अधिकारी र ला लिगाले पनि आलोचना गरेका छन् ।

स्पेन खेलकुदका जुनियर मन्त्री मारिया जोसेले महिला अधिकारको सम्मान नहुने देशमा आयोजना हुन लागेको सुपरकपलाई सरकारको सहयोग नहुने बताइन् । दि रोयल स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस एविएल्सले स्पेनिस सुपरकप हेर्न महिला समर्थकलाई कुनै अवरोध नहुने बताए ।

साउदीको किंग्स अब्दुल्लाहा स्पोर्ट्स सिटी जेद्दाहामा हुने स्पेनिस सुपरकपमा चार टोली सहभागी हुने छन् । सुपरकपमा क्याटलान क्लब बार्सिलोना, रियाल म्याड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सियाबीच प्रतिश्पर्धा हुने छ ।

अघिल्लो सिजनको ला लिगाका शीर्ष दुई टिम र कोपा डेल रेका विजेता र उपविजेता दुई टिमले प्रतियोगितामा सहभागी हुने नियम छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल जनवरी ८ मा बार्सिलोनाले एट्लेटिको मड्रिडबीच हुनेछ । जनवरी ९ मा हुने दोस्रो सेमिफाइनलमा रियल र भ्यालेन्सिया भिड्ने छन् । सेमिफाइनल खेलका विजेताहरुबीचको फाइनल खेल भने १२ जनवरीमा हुने छ ।

Loading...