fbpx

यसैले आउँदैनन् विराटनगरमा पर्यटक

writer
रामप्रसाद पौडेल

विश्वका केहीमात्र देशहरू होलान् जसले पर्यटक भित्र्याउनका लागि भ्रमण वर्ष मनाउने गर्दछन् । यस्तैमध्ये एउटा देश हो मेरो देश नेपाल । मेरो देशले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । देश विकासको लागि महत्त्वपूर्ण आधारशिला हुनसक्ने पर्यटन उद्योगको श्रीवृद्धि सबैको चासोको विषय हो । यसले व्यक्ति–व्यक्तिलाई मात्र होइन समग्र राष्ट्रलाई नै फाइदा पुर्‍याउँछ । त्यसैले सरकारले राखेको लक्ष्य आफैंमा महत्त्वपूर्ण छ ।

प्राकृतिक रूपमा अनुपम, सुन्दर मेरो देशको दोस्रो ठूलो सहर विराटनगरमा बस्छु म । सुन्दा अचम्म लाग्न सक्छ, यति सुन्दर देशको यति ठूलो सहरमा तेस्रो मुलुकका पर्यटक खासै आउँदैनन् । भारतीय पर्यटकलाई नगन्ने हो भने वर्षभरिमा मुस्किलले ५००० जना पनि तेस्रो मुलुकका पर्यटक नआउने सहरमा पर्छ विराटनगर । किन यति साह्रो हेलामा परेको छ त यो सहर ? के पर्यटकलाई आकर्षण गर्न सक्ने कुनै पनि चिज नभएकै हो त विराटनगरमा ? यसबारेमा संक्षेपमा चर्चा गर्ने जमर्को यहाँ गरिएको छ ।

किन आउँदैनन् पर्यटक ?

प्रायः पर्यटक सुबिधाभोगी हुन्छन् । उनीहरू हाम्रो भाषार संस्कृतिप्रति रुची त राख्छन् तर हामीले खाएकै खाना खाएर हामीले सुत्ने ठाउँमै सुत्न सक्दैनन् । एक–दुई छाकको लागि हाम्रो खाना उनीहरूलाई चाख्न मन त लाग्ला तर उनीहरूले खानेकुरा हाम्रो खानाभन्दा बिल्कुलै फरक छ । दक्षिण एसियाका पर्यटकहरूको खान्की हामीसँग धेरथोर मिलेपनि अरु मुलुकका पर्यटकहरूको खाना हाम्रोभन्दा अर्कै छ । बस्ने ठाउँ र सुत्ने ओछ्यानको बारेमा उनीहरू ‘चुजी’ छन् । उनीहरूको घरकै ओछ्यान पनि हाम्रा होटलहरूको भन्दा राम्रो, सफा र बाक्लो हुन्छ । त्यसैले उनीहरूलाई आकर्षित गर्नका लागि हामीसँग खुवाउने ‘मेनु’ र सुताउने ‘बेड’ सुबिधाजनक हुनुपर्दछ ।

पाँच वर्ष पहिलेको तथ्याङ्कलाई हेर्ने हो भने विराटनगरमा जम्माजम्मी ९७ वटा होटलहरू रहेछन् । पछिल्लो पाँच वर्षमा मुस्किलले २०/२५ ओटा होटलहरू थपिए होलान् । भएका सवा सय जति होटलमध्ये पर्यटकले एडजस्ट गर्न सक्ने खालका वा उनीहरूको स्तरका होटलहरू औंलामा गन्न सकिने मात्रामा छन् । नामै लिनुपर्दा विराटनगरमा भएका रत्ना, ह्यारिसन, बिग, एसियाटिक, स्वागतम्, स्टर्नस्टार, जेनियल, पाञ्चाली आदि होटलमा पर्यटकहरू जसोतसो एडजस्ट गर्न सक्छन् । यीमध्ये पनि बिग, एसियाटिक लगायतकाले विदेशीसँग ‘डलर’ लिनुपर्छ भन्छ । मच्छड भन्कने कोठामा पाहुना राखेर रातकै ४ हजारदेखि १३ हजारसम्म कमाउने सपना बुनेर बसेका छन्, यी होटलहरू । सुबिधा वृद्धि गरेर शुल्क लिनु मुनासिव नै भएपनि ‘सुबिधा पनि मैले जे दिन्छु त्यही उपभोग गर्, पैसा पनि मैले जति भन्छु त्यति तिर्’ भनेजस्तो गरिरहेका छन् उनीहरू । यत्रो ठूलो सहरमा पाँचतारे होटल एउटै नहुनु र अन्तर्राष्ट्रियस्तरमा तुलना गर्दा ताराविहीनझैं लाग्ने होटलहरूले पाँचतारेको शुल्क असुल गर्नु विराटनगरको सवालमा पर्यटक विकर्षित गर्ने प्रमुख कारण हो । बाँकी रहेका एक सय बढी होटलहरू त धर्मशालाभन्दा पनि कमसल छन् । बिहारले रक्सी बन्देज गरेको कारण रक्सी र ‘रात’ खोज्दै आउने बिहारी अतिथिहरू नहुने हो भने ती होटलहरू आधाजसो त पहिल्यै बन्द भैसक्ने थिए होलान् । समग्रमा भन्न खोजिएको कुरा के हो भने विराटनगरमा भएका होटलहरूले तेस्रो मुलुकका पाहुनाहरूलाई मोहनी लगाउने क्षमता राख्दैन । सामान्य ब्यागप्याकर्सहरूका लागि ठीकै हो तर खर्चालु पर्यटक खर्च गर्नका लागि सुबिधा र स्तर खोज्छन् ।

aa

होटलहरूले उपलब्ध गराउने खानाको स्तर पनि त्यस्तै छ । हाम्रो समूहले प्रायः प्रयोग गर्ने विराटनगरकै एउटा होटलमा आधाजति अमेरिकी र आधाजति नेपाली गरेर जम्माजम्मी २४ जना जति खाना खाँदै थियौं । त्यो दिनको खाना यस्तो बन्यो कि हामीले त्यसपछि त्यो होटलमा पाहुनाहरू लैजाने आँट नै गर्न सकेनौं । चिकन चिल्लीको मेनुमा उसिनेको चिकनका टुक्रामा टोम्याटो सस् र केही हरिया खुर्सानी मथेर ल्याइदिएको छ । नानहरू डढेर कालाम्यै भएका छन् । चिकन टिक्का मसालामा मसला मात्रै छ, चिकन छैन । लस्सीको ठाउँमा अमिलो मोइ सर्भ गरेको छ । आदि आदि… । होटलमा कम्प्लेन गर्दा, सरी भन्नु त कताहो कता ‘होइन होला, यस्तो भयो र ?’ पो भन्छ । त्यो दिन हाम्रा पाहुनाहरू भोकै सुते, हामीलाई राम्रोसँग निन्द्रै लागेन ।

हामीले सोच्नुपर्ने कुरा अब ती हाम्रा पाहुनाहरू उनीहरूको देश फर्केर गएपछि विराटनगरको होटलको बारेमा के कुरा गर्लान् ? मच्छडले टोकेका दागहरू देखाउँदै कति दिनसम्म गुनासो गर्लान् ? उनीहरूको देशमा रेष्टुराँमा खाना खाइरहँदा कति दिनसम्म नेपालको याद आउला ? सन् २०१२ मा मलेसियाको एउटा होटलमा अक्टोपसको हरिबिजोग रेसिपिको मलाई अहिलेसम्म याद आउँछ, उनीहरूलाई पनि त्यस्तै त हो । आन्द्रा नतन्किउञ्जेल खाने बानी परेको मलाई सन् २०१५ मा अमेरिकाको एउटा सहरमा क्यालोरी काउन्ट गरेर एक टुक्रा खैरो रोटी र नेभाराको फल खुवाएर दिनभरि भोकै राखेको कुरा म कहिल्यै बिर्सन सक्दिँन भने हामीले स्तरीय मानेर पाहुना राखेका होटलले सर्भ गरेका डढेका काला नानहरू उनीहरूले कसरी बिर्सेलान् ?

हामीमध्ये धेरैलाई लाग्न सक्छ, खानेकुरा त सामान्य हो, कहिलेकाँही जस्तो पनि चल्छ । तर, अहँ होइन । विश्वका मानिसहरूले एक चौथाई जसो कमाइ खानपिन मै सिध्याइरहेका हुन्छन् । हामी नेपाली आफैं पनि खानाका पारखी हौं । हामीलाई कसैको विवाह, सभा, समारोह, तालिम, बैठक आदिमा धेरै पटक विषयवस्तुमा भन्दा ज्यादा खानामा चासो लागिरहेको हुन्छ । त्यसमाथि झन् खन्खन् पैसा गनेर खाने कुरा त स्तरीय हुनैपर्छ । विदेशीलाई रिझाउनका लागि कन्टिनेन्टल, मेक्सिकन, अरबियन, चाइनिज, इन्डियन आदि खानेकुरा स्तरीय किसिमले पकाउने मान्छेको वर्षैभरि प्रबन्ध गर्न होटल चुक्नु हुँदैन ।

बस्ने बास र खाने गाँस पर्यटकको पहिलो रोजाइ भएपनि खान र बस्नकै लागि मात्र पर्यटकहरू लाखौं खर्च गरेर आउँदैनन् । उनीहरू केही नयाँपन चाहन्छन् । हेर्ने चिज होस् वा सिक्ने कुरा उनीहरूका लागि नौलो कुराले महत्त्व राख्दछ । विराटनगरमा त्यस्ता नौला कुराहरू खासै केही देखिँदैनन् । त्यसै कारणले गर्दा आईएनजीओका कर्मचारी, केही सरकारी पाहुना र केही धार्मिक सभाहरूमा आउने मानिसहरूबाहेक अरु घुमन्ते पर्यटकहरू विराटनगरमा देखिँदैनन् । किनभने विराटनगरले पर्यटकलाई आकर्षित गर्ने कुनै पनि इमारत खडा गर्न सकेन, कुनै नौलो कुरा देखाउन सकेन ।

के गर्दा आउलान् पर्यटक ?

हुनतः यो प्रश्नको जवाफ त्यति सजिलो छैन । तर पनि मनमा लागेका केही उपायहरू यहाँ सुझाउन मुनासिव ठान्दछु । विराटनगर राजनैतिक दृष्टिकोणले नेपालको अत्यन्तै महत्वपूर्ण भूमि हो । यसै कुरालाई महत्त्व दिएर म्युजियम खोल्न वा राजनीतिशास्त्रका विदेशी विश्वविद्यालयका विद्यार्थीहरूका लागि समेत सोधकेन्द्र स्थापना गर्न विराटनगरले ढिला गर्नु हुँदैन । यसोगर्दा यहाँका क्याम्पसहरूमा समेत रौनक छाउने र विदेशका विद्यार्थीहरू लामो समयका लागि वा केही हप्ताका लागि भए पनि विराटनगर घुम्न आउन सक्छन् ।

ऐतिहासिक दृष्टिकोणले विराटनगरनजिक विराट राजाको दरबार भएकोले यसको अर्कै महत्त्व छ । त्यो दरबारलाई संरक्षण गर्ने, पुनर्निर्माण गर्ने र पर्यटकलाई आकर्षित गर्ने केही संरचनाहरू थप्ने हो भने त्यहाँ पर्यटकहरू लैजान सकिन्छ । भारतको ताजमहलमा त्यही महल हेर्नकै लागि सन् २०१६ मा मात्रै ६२ लाख पर्यटकहरू गएका थिए । एउटै विलक्षण संरचनाको महत्त्व कति हुन्छ भन्ने कुरा यहाँबाट थाहा पाउन सकिन्छ ।

औद्योगिक सहरको रूपमा परिचित यस सहरका केही उद्योगहरू अवलोकनका लागि खुल्ला गरेर, त्यहाँका उत्पादनहरू विश्वबजारमा कसरी खपत भइरहेका छन् जानकारी गराउन सकिन्छ । वा औद्योगिक संग्रहालय बनाउन सकिन्छ । उदाहरणका लागि विश्व चाउचाउबजारको १ प्रतिशत हिस्सा ओगट्न सफल वाईवाई चाउचाउलाई नै लिन सकिन्छ ।

एउटा व्यक्तिले चाहे कति ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा देखाउन विराटेश्वर वृद्धाश्रमलाई नमुना वृद्धाश्रमको रूपमा विकास गर्न सकिन्छ । अघिल्लो वर्ष मेरो सम्पर्कमा आएका केही क्यानाडियन पाहुनाहरूलाई मैले सो वृद्धाश्रमको अवलोकन गराउँदा उनीहरू साँच्चै प्रभावित भएका थिए । उनीहरू भन्दै थिए ‘हाम्रोमा धन भएका मानिसहरू त धेरै छन् तर जगतको जस्तो मन भएका त्यागीहरू भने खोज्दा पनि भेटिँदैनन् ।’ यसरी समाज सेवा पनि पर्यटक आकर्षण गर्ने माध्यम हुन सक्छ भन्ने कुराको इतिहास रच्ने अवसर हामी विराटनगरका बासिन्दाहरूलाई प्राप्त हुन सक्छ ।

अर्को महत्त्वपूर्ण कुरा, विराटनगर र आसपासका गाउँहरूमा थारू, राजवंशी, बाँतर, मुसहर र सन्थालहरूको बाक्लो बस्ती छ । उनीहरूको भाषा, संस्कृति, नाच, खानपान सबै हामीभन्दा फरक छ । उनीहरूको मौलिक संस्कृतिलाई प्रवद्र्धन गर्ने योजनाहरू ल्याएर, होम स्टेहरू सञ्चालन गरेर, हरेक साँझ सांस्कृतिक कार्यक्रमहरू देखाएर पनि पर्यटक आकर्षित गर्न सकिन्छ । यसो गर्दा उनीहरूको संस्कृतिको त संरक्षण हुन्छ नै, पर्यटकहरू पनि आकर्षित गर्न सकिन्छ ।

लगभग २ घण्टाको यात्रा मै विराटनगरबाट भेडेटार पुगिन्छ । दुई घण्टामै यति धेरै हावापानी र भुगोलको विविधता भएको ठाउँ सायद नेपालमा मात्रै होला । हाम्रा पर्यटकहरूलाई ती ठाउँहरूमा लैजाने, नमस्ते झरना देखाउने, त्यसपछि माथि हिले, सिधुवा हुँदै पटेक डाँडासम्म ट्रेकिङ गराएर गुराँसको राजधानी देखाउँदै फर्काउने गरी लगभग एक साताको ट्राभल प्याकेज पनि बनाउन सकिन्छ । पटेक डाँडामा एउटा भ्यू टावर बनाउने हो भने त्यहाँबाट उत्तरका सेताम्य हिमालहरू त देखाउन सकिन्छ नै सूर्योदयको दृश्य समेत मनोहर देखिन्छ ।

विमानस्थल विराटनगरमा भएको कारण ट्रान्जिटको रूपमा पनि विराटनगरको महत्त्व अति नै रहेको देखिन्छ । यसरी धनकुटातिरको होस् वा कन्याम र अन्तुतिरको ट्रेकिङको प्याकेज बनाएर पर्यटकलाई स–सम्मान घुमाउने हो भने हामीले पनि हरेक वर्ष उल्लेखनीय रूपमा पर्यटक भित्र्याउन सक्छौं ।

Loading...