fbpx

सीमा विवाद : दशगजामा भारतीय नागरिकका घर

विराटनगर, २७ कात्तिक । भारतीय पक्षले मोरङको सीमावर्ती क्षेत्र मिचेर संरचना बनाएको पाइएको छ । छिमेकी देश भारतसँगको सीमा विवाद चर्किरहेको अवस्थामा मोरङको रतुवामाई र सुनवर्षी नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा मिचेर भारतीयले संरचना निर्माण गरेको पाइएको हो ।

भारतीय पक्षले रतुवामाई –१ सोनापुर र सुनवर्षी –८ सिक्टी क्षेत्रमा दशगजा क्षेत्र अक्रिमण गरेर एक सय १३ वटा घर बनाइसकेका छन् । नेपाली सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको तथ्याङकअनुसार सोनापुरमा ३८ र सिक्टीमा ७५ घर निर्माण भएका छन् ।

भारतीय सीमा सुरक्षा सुरक्षा वल (एसएसबी)को आडमा भारतीयले धमाधम संरचना बनाएर दशगजामा बसोबास गर्न थालेका हुन् । सशस्त्रका इन्सपेक्टर (प्रहरी निरीक्षक) को नेतृत्वमा रहेको बोर्डर आउट पोस्ट बरडंगालाई सोनापुर र सिक्टी दुईवटै नाका हेर्ने जिम्मेवारी छ ।

सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्रको यो युनिट नाकाबाट १९ किलोमिटर उत्तरमा पर्छ । अतिक्रमण रोक्ने र नियन्त्रण गर्ने मजबुत सरकारी संयन्त्र नाकामा छैन । सुरक्षा संयन्त्र नभएको अवस्थामा भारतीयले बस्ती विस्तार गरिरहेका छन् ।

भारतीयले दशगजा मिँच्दै घर बनाएको मोरङ रतुवामाई –१ का अध्यक्ष हरि गिरिले बताए । सुनवर्षी–८ का वडा अध्यक्ष नुरुल मियाँले भारतीयहरुले विस्तार गरेको बस्ती हटाउन नसकिएको बताए । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले दुई देशबीच हुने प्रत्येक बैठकमा यो विषय उठान हुने गरेको बताए ।

सहायक प्रजिअ भण्डारीले दशगजाको अतिक्रमण हटाउन सुरक्षाकर्मी नै परिचालन गर्ने सवालमा भारतीय अधिकारीसँग तत्काल कुरा चलाइने बताए ।

Loading...