fbpx

‘मेस्सीलाई पछि पार्दै भान डाइकले बालोन डी‘ओर जित्नेछन्’

एजेन्सी, २६ कात्तिक । लिभरपुलका पूर्वमिडफिल्डर डेन्नी मर्फीले २०१९ को बालोन डी‘ओर लिभरपुलका स्टार भान डाइकले जित्ने बताएका छन् । ‘टक स्पोर्ट्स’सँगको कुराकानीमा ४२ वर्षीय मर्फीले बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा भान डाइक बालोन डी‘ओरको हकदार रहेको बताएका हुन् ।

फुटबलकै सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी‘ओरका लागि नेदरल्याण्डका खेलाडी भर्जिल भान डाइकका साथै बार्सिलोनाका कप्तान मेस्सी र युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दाबेदारको रूपमा हेरिएको छ । फ्रान्स फुटबल र फिफाले संयुक्त रूपमा प्रदान गर्ने उक्त अवार्डको प्रमुख दाबेदार लिभरपुलका भान डाइक रहेको मर्फीको भनाइ छ ।

jj

भान डाइक सन् २०१८ को च्याम्पियन्स लिगका विजेता हुन् । उनले यसै अगस्टमा ‘यूइएफए प्लेयर अफ दि इयर’ को अवार्ड हात पारेका थिए । यद्यपि, यस अवार्डका लागि अर्जेन्टिनी कप्तान मेस्सीलाई पनि प्रमुख दाबेदारको रूपमा हेरिएको छ । मेस्सीले अघिल्लो महिना मात्र फिफाको ‘द बेस्ट मेन्स प्लेयर’को अवार्ड हात पारेका थिए । तर, मर्फीका अनुसार मेस्सी नभएर भान डाइक यसको हकदार हुन् ।

‘मेरा लागि बालोन डी‘ओरको विजेता भान डाइक हुन्’ मर्फीले भने, ‘उनको प्रभाव लिभरपुल फुटबल क्लबमा धेरै नै छ । उनमा बालोन डी‘ओर जित्नुपर्ने धेरै कारण छन् । उनले नेतृत्त्व गर्ने क्षमता पनि बनाएका छन् । सायदै यही नै सबैभन्दा ठूलो कारण हो ।’

यसैगरी मर्फीले मेस्सी छैटौं पटक बालोन डी‘ओर जित्ने दौडमा रहेपनि भान डाइकले उनलाई पछि पार्ने बताए । उनले भने, ‘पक्कै पनि भान डाइकले विश्वका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दैछन् । त्यसमध्ये एक हुन् मेस्सी । मेस्सीसँग सर्वाधिक धेरै गोल गरेको कीर्तिमानी छ । तर, सन् २०१९ को प्रदर्शनका आधारमा भन्दा मेस्सीभन्दा भान डाइक हकदार हुन् ।’

‘मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लिग जित्न सहयोग गरेनन्’ उनले थपे, ‘बालोन डी‘ओरको विजेता भनेको च्याम्पियन्स लिग जित्ने खेलाडी नै हुनुपर्छ । यसको मापदण्ड भनेकै त्यही हो र योभन्दा फरक भएको म देख्तिँन । र, यसैका आधारमा भन्न सकिन्छ कि मेस्सीलाई पछि पार्दै भान डाइकले बालोन डी‘ओर जित्नेछन् ।’

यसअघि रोनाल्डो र मेस्सीले समान पाँच–पाँच पटक बालोन डी‘ओर जितिसकेका छन् । डिसेम्बर २ मा घोषणा हुने उक्त बालोन डी‘ओर दौडमा मेस्सी र रोनाल्डो विश्व कीर्तिमान रच्ने दाउमा छन् । छैटौं पटक बालोन डी‘ओर जित्ने दौडमा मेस्सी र रोनाल्डो रहँदा भान डाइक भने दुवैलाई पछि पार्दै पहिलो पटक उक्त अवार्ड जित्ने दाउमा छन् ।

यद्यपि, उक्त अवार्डको मनोनयनमा भर्जिल भान डाइकसहित लिभरपुलका ७ जना खेलाडी परेका छन् । पहिलो चरण छनोटमा लिभरपुलका भान डाइकका साथै साडियो माने, मोहम्मद सालाह, रोबेर्टो फिर्मिन्हो, ट्रेन्ट एलेजान्देर आर्नोल्ड, जर्जिनयो विज्नाडम र एलिसन बेकर पर्न सफल भएका छन् ।

Loading...