श्रीलंकाली संस्कार र सडक किनाराका पसलहरू

डा. राजेन्द्र उप्रेती

श्रीलंकाको उन्नत आर्थिक अवस्थामा कृषि उत्पादनको योगदान उल्लेख्य छ । धेरै ग्रामिण क्षेत्रका बासिन्दाहरूको मुख्य आयश्रोत आज पनि कृषि व्यवसायबाटै आउने गर्छ । धान, चिया, नरिवल आदी यहाँका मुख्य कृषि उत्पादनहरू हुन् । विभिन्न प्रकारका फलफूल र तरकारीहरू यहाँ उत्पादन हुने गर्छन् । वर्षमा दुई पटक फल्ने र सधैँजसो बजारमा पाइरहने आँपहरू, मेवा, केरा, अनारस, रुखकटहर, एभोकाडो यहाँको बजारमा जताततै पाइने फलफूलहरू हुन् । तर, त्योभन्दा मलाई मन परेको कुरा भनेको यहाँको सडक किनाराका तरकारी र फलफूलका पसलहरू हुन् ।

यहाँको सडक सञ्जाल जताततै पुगेको छ अनि सडकको अवस्था एकदमै राम्रो छ । हामीहरू जताको सडकमा गएपनि एउटा चिज सबैतिर देखिन्छ, त्यो हो सडक किनारामा तरकारी, फलफूल, नरिवल पानी र उसिनेका मकै बेच्ने पसलहरू । यस्ता पसलहरू श्रीलंकाली जनजीवनमा भित्रसम्म जोडिएका छन् र ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा योगदान गरेका छन् ।

किसानहरूले अन्त कतै गएर आफ्ना उत्पादनहरू बेच्नेभन्दा घर छेउछाउमै अरु काम गर्दै आफ्ना उत्पादनहरू बेच्ने गरेका रहेछन् । केही अरुहरू भने अन्यत्रबाट किनेर ल्याएर पनि आफ्नो घर छेउछाउमै आम्दानीको जोहो गर्दा रहेछन् । उपभोक्ताहरूले पनि ताजा उत्पादन सहज र सुलभ दाममा पाउने, बिक्रेताले पनि आम्दानीको नयाँ श्रोत पाउने ।

सडक किनाराका पसलहरूमै छ्यापछाप्ती पाउने कृषि उत्पादनमध्ये केरा, आँप र मेवा मुख्य फलहरू हुन् । हामी हाम्रा बजारमा पाइने केरा किनेर खान निक्कै पटक सोच्ने गर्छौं । न तिनीहरूको स्वाद हुन्छ न प्राकृतिक वास्ना, बाहिर पहेँलै भएर पाकेको देखिन्छ भित्र टर्रो नै हुन्छ । अलि पकाएर खाउँ भनेर एक दुई दिन राख्यो भने भित्र कुहिसकेको हुन्छ । तर, श्रीलंकामा मैले भेट्टाएका जति पसलहरूबाट केरा किन्दा आँखा चिम्लेर किने पनि फरक नपर्ने रहेछ । उनीहरू ग्रामिण क्षेत्रहरूमा उत्पादन भएका र प्राकृतिक रूपले छिपिएर पाकेका केराहरू किन्दा रहेछन् र बेच्दा रहेछन् । जसमा स्वाद, वास्ना सबै प्राकृतिक रूपमै हुने र बोक्रा कालो हुदाँसम्म पनि भित्रको गुदी जस्ताको त्यस्तै हुने रहेछ । हाम्रा केरा उत्पादकहरूले यसबाट केही सिक्ने की ?

श्रीलंका धार्मिक मानिसहरूको देश हो भन्दा फरक नपर्ने रहेछ । यिनीहरूलाई धर्मले संस्कारयुक्त बनाएको छ । जीव हिंसाबाट प्रायः श्रीलंकनहरू टाढै बस्ने रहेछन । ढाँट्ने र ठग्ने कुराबाट बच्न खोज्दा रहेछन् । यहाँ अटोरिक्सामा पनि मिटर जोडिएको छ अनि प्रायः चालकहरूले हाम्रोमा जस्तो जतिबेला पनि भाडाको लागि मोलमोलाई गरेको पाइँदैन । सबै मिटरमा हिँड्दा रहेछन र मिटर बिगारेर जताभावी भाडा असुलेको कुरा यहाँ नौलो हुने रहेछ । गाडी चालकहरूले प्रायः मानिस मात्र होइन पशुपंक्षी पनि जोगाउन खोज्ने रहेछन् । त्यसैले होला बाटामा भेटिएका मयुरहरू प्रायः भाग्दैनन् बिस्तारै किनारा लाग्छन् र गाडीलाई बाटो दिँदा रहेछन् । मैले श्रीलंकाको सयौँ किलोमिटर सडक यात्रा गरिसकेँ तर अहिलेसम्म सडक दुर्घटना देखेको छैन । नेपालको अवस्थालाई तुलना गरेर हेर्दा यो अपत्यारिलो लाग्ने रहेछ । धर्मसँग जोडिएर मानिसले आफ्नो दैनिक जीवनलाई यसरी व्यवस्थित गरेका हुँदा रहेछन् भन्ने उदाहरण हो यो बौदमार्गी श्रीलंका । हामी गौतम बुद्दका देशका मानिस भनेर गर्व गर्नेहरूले श्रीलंकाबाट सिक्नु पर्ने यो एउटा असल उदाहरण रहेछ ।

केही दिन अगाडि म बास बस्न पुगेको एउटा गेष्ट हाउसमा पुग्दा एउटा ठूलो गोमन साप देखापरेको थियो । त्यहाँका मानिसहरूले त्यो सापलाई बिस्तारै घरको किनारामा ल्याए र एकातिरबाट बन्द गरिएको पाइपमा पसाए र सुरक्षित रूपमा अलि पर लगेर छोडिदिए । प्राणी हत्या गर्नुहुँदैन भन्ने विश्वास उनीहरूले सर्पमा पनि उत्तिकै लागू गर्ने रहेछन् । यो विश्वास र जिउने काइदा जुनसुकै कुरामा देख्न सकिन्छ । यस्तो विश्वासको जगमा उभिएर होला दशकौ लामो लडाइँ र विध्वंसमा पिल्सिएर पनि श्रीलंका व्यवस्थित भएर अगाडि बढिरहेको छ ।

(श्रीलंका भ्रमणमा रहेका डा. राजेन्द्र उप्रेती, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय¸ प्रदेश १ विराटनगरमा कार्यरत महाशाखा प्रमुख तथा मन्त्रालयका प्रवक्ता हुन् ।)

Loading...