fbpx

बुद्ध एयर सञ्चालक बस्नेतको योजना : ‘२५ सय विगाहमा धान खेती गर्ने, गाउँमा सेलर मिल खोल्ने’

विराटनगर, २५ कात्तिक । उड्यन क्षेत्रको सफल कम्पनी बुद्ध एयरका सञ्चालक विरेन्द्रबहादुर बस्नेत कृषि उद्यममा केन्द्रित भएका छन् । मोरङको बेलबारीमा उनले  व्यावसायीक कृषि खेती सुरू गरेका हुन् ।

बस्नेतको घर पनि बेलबारी नै हो । बेलबारीमा माछा र बोयर जातको बाख्रा पालन गरिरहेका बस्नेतले पछिल्लो समय चामलको बजारमा हस्तक्षेप गर्नेगरी व्यावसायीक धान खेती गर्न लागेका हुन् ।

बस्नेतले पहिलो चरणमा कृषकको सहभागितामा दुईसय विगाह जग्गामा चैते धान रोप्ने तयारी गरेका छन् । यही सिजनमा धान खेतीका लागि धान रोप्ने, काट्ने मेसिम ल्याइसकेका छन् । चैते धान सुकाउने मेसिन भने आउने क्रममा छ ।

मेसिन मार्फत सुकाइएको धान तत्काउ चामल बनाएर परीक्षणका लागि मार्केट पठाउने योजना रहेको बस्तेले बताए । ‘बजारमा पाइने आयातित चामल र हाम्रो उत्पादनबीच मार्केट सर्भे गर्छौं ।’ बस्नेत भन्छन् ‘बाहिरबाट आयत हुने चामलाई प्रतिस्थापन गर्ने गरी काम गरिरहेका र्छौ ।’

कृषकको सहभागितामा चैते धान रोप्ने तयारी अन्तिम चरणमा पूर्याएका बस्नेतले ‘धान–तोरी–धान’ गरी तीनबाली खेती गर्ने योजना अघि सारको बताए । ‘हाम्रो योजना चाडैं २५ सय विगाह क्षेत्रमा यान्त्रीकरण मार्फत नमुना कृषि गर्ने हो ।’ बस्नेत भन्छन् ‘ योजनामा सबै स्थानीय कृषकको सहभागिता रहन्छ ।’

वार्षिक २५  सय मेट्रिकटन धान उत्पादन हुने सुनिश्चित भएपछि गाउँमै आधुनिक सेलर मिल सञ्चालन गर्ने योजना रहेको बस्नेतले बताए । बेलबारीमा खुल्ने मीलको नाम आरजू राइस मिल रहने बस्नेतले बताए । मिलकाे लागत २० कराेड हाराहारी रहने उनले बताए । ‘मिलको बिषयमा हामी अध्ययन गरिरहेका छौं ।’ उनले भने ‘हाम्रो प्राथमिकता धान उत्पादन हो ।’

चैते धानको काम मेसिनबाट

चैते धान उठाउन झन्झटिलो र भाउ पनि नपाउने भएका कारण कृषक बिस्तारै पलायन हुँदै छन् । झन्झटका कारण कृषक एक बाली मात्र धान लगाउँछन् ।

कृषकले छोड्दै गएको खेतीबाट बस्नेतले सम्भाब्यता अध्ययन गरिरहेका छन् । ‘धान रोप्नेदेखि काटेर सुकाउने र पराल व्यवास्थापनको काम पनि मेसिनले गर्छ ।’ बस्नेत भन्छन् ‘ पानी र मौसमका कारण चैते धान कृषकलाई घाडो हुन्छ । तर हामी सबै मेसिनबाट काम गछौं ।’ परिक्षणको रुपमा दुईसय विगाहबाट उत्पादिन धान बजार मुल्य अनुसार खरिद गरी चामल बजार पठाउने बस्नेतले बताए ।

सुनसरीको चिमडीमा सहकारी मार्फत लामो समय काम गरेका बस्नेत असफल भएपछि आफ्नै गाउँमा व्यावसायीक खेतीकालागि दिर्घकालिन योजना बनाएका हुन् ।

व्यावसायीक  कृषिका लागि बस्नेत कै योजनामा बेलबारी ९ पोखरीयामा कृषकलाई सहुलियत रुपमा मेघा बैंकले ऋण लगानी गर्दैछ । कृषि खेतीका लागि महिलालाई ६ र पुरुषलाई ७ प्रतिशतका दरले ऋण लगानी गर्नेछ ।

‘बुद्ध एयर फोनबाटै चल्छ, म कृषि गर्छु’

बाह्र वर्ष अघि बस्नेतले बुद्ध एयरको सामाजिक उत्तरदाहित्यव अन्तरगत कृषि खेतीमा योगदान गर्न नेपाल कृषि कम्पनी दर्ता गरेका थिए । सो फर्म मार्फत सुनसरीको चिमडी, छिटाहसहितका तत्कालिन गाउँबिकास समितिमा सहकारी मार्फत यान्त्रीकरणको काम गरे ।

करिब चार वर्ष प्रयास गर्दा असफल भए । लगतै बुढीगंगाको गोकुवामा पनि कृषि फर्म सञ्चालन गर्दा पनि सफल भएन् । कर्मचारी र सहयोगी मार्फत गरेका दुईवटा कृषि योजना असफल भएपछि बस्नेतले आफै खटेर योजना कार्यान्यन गर्ने बताएका छन् । ‘ यहाँ म नहुँदा राम्रो काम भएन् ।’ उनले भने ‘ एयरलायन्स फोनबाट  चलाउछु,  खेतीकाे समय गाउँमै रहन्छु ।’

मुख्यमन्त्रीले भने ‘प्रदेश सरकार सहयाेग गर्न तयार छ’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले व्यावसायीक कृषि उद्यमलाई प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । परम्परागत कृषि उत्पादन प्रणालीले कृषकको जीवनस्तर नउस्किएको बताउँदै उनले आधुनिक कृषि खेती गर्न प्रदेश सरकारले  प्रोत्साहन गर्ने बताए ।

नेपाल कृषि कम्पनीले ल्याएको उपकरणले धान काटेको अवलोकन गर्न पुगेका मुख्यमन्त्री राईले व्यावसायीक कृषि उत्पादनले मात्र विदेशबाट हुने आयातलाई रोक्न सक्ने बताए ।

Loading...