fbpx

फाल्गुनन्दको जीवनसँग गाँसिएका ठाउँ पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्नु पर्ने : प्रधानमन्त्री ओली

काठमाडौं २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँहरुलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्नुपर्ने बताएका छन् ।

उनले ती ठाउँहरुमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकार सकारात्मक रहेको बताए ।  राष्ट्रिय विभूती तथा किराँतधर्मका महागुरु फाल्गुनन्दको १३५ औं जन्म जयन्तीका अवसरमा सोमबार (आज) शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले फाल्गुनन्दको जन्मभूमि चुक्चीनम्बा, ज्ञानभूमि फूलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तिर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

पूर्वी नेपालको इलाममा जन्मिएका फाल्गुनन्दले समाज सुधारका लागि ठूलो योगदान गरेको प्रधानमन्त्री ओलीले बताए । किराँत समुदायको सामाजिक सुधार अभियानका लागि फाल्गुनन्दले वि.सं. १९८८ वैशाखमा जारी गरेको ७ बुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ,” शुभकामना सन्देशमा भनिएको छ, “सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोकेका फाल्गुनन्दले विश्व शान्ति र मानव एकताको लागि दिनु भएको शिक्षा आज पनि मननीय छन् ।”

छोरा सरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसा रहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको प्रधानमन्त्रीले बताए ।

Loading...