fbpx

पत्रपत्रिकामा प्रदेश : सुनसरीमा २३ सीमा स्तम्भ हराए

विराटनगर २५ कात्तिक । सुनसरीका बिभिन्न स्थानमा २३ वटा सीमास्तम्भ हराएको छ । सुनसरीमा नेपाल भारत सीमा क्षेत्रमा २९० वटा सीमा स्तम्भ भएकोमा २३ हराएको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सुनसरीले ४ वटा मुख्य र १९ वटा सहायक सीमा स्तम्भ हराएको जानकारी दिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीका एसपी कृष्ण ढकालले कोशी, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह गाउँपालिकामा सीमा स्तम्भ हराएको बताए ।

तर कोशी गाउँपालिका भित्रै रहेका २३ वटा सीमास्तम्भ हराएको स्थानीयले बताएको ब्लाष्ट टाइम्समा खबर छ । सीमा स्तम्भ बाढीले बगाएको हुन सक्ने स्थानीयको अनुमान छ । एसपी ढकालले उपनिर्वाचन पछि सीमा स्तम्भको खोजी गरि मर्मत सम्भार गर्न पहल गरिने बताए ।

उद्घोष दैनिकमा गोबरगाडामा छैन सरकारको उपस्थिति शिर्षकमा मुख्य समाचार छ । कोशी व्यारेज भन्दा दक्षिणमा पर्ने गोबरगाडा नेपालको भूभाग भएपनि सरकारी उपस्थिति छैन् । अहिले हनुमान नगर कङ्कालिनी नगरपालिका वडा नम्बर ८ रहेको गोबरगाडामा सरकारी कार्यालयको नाममा उपस्वास्थ्य चौकी र श्री शारदा आधारभुत विद्यालय मात्रै छ ।

विद्यालयमा पढाइ नै हुँदैन भने सहायकको भरमा उपस्वास्थ्य चौकी सञ्चालमा छ । वडाध्यक्ष विदेश्वर यादवले आफ्नो वडामा सरकारी उपस्थिति नभएको भन्दै प्रहरी चौकी पुनस्थापित गर्न माग गरे । गोबरगाडा निरिक्षणमा पुगेका सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसँग प्रहरी चौकी पुनस्थापनाको माग गरेका हुन् । भारतसँग सीमा जोडिएको गोबरगाडामा बरु भारतीय सुरक्षा फौज एसएसबी गस्तिमा पुग्ने गरेका छन् । नेपालतर्फबाट भने कोही नपुग्ने स्थानीयले गुनासो गरे ।

कोशीमा सय शैय्याको बर्थिङ सेन्टर शिर्षकमा जनविद्रोह दैनिकमा समाचार छ । कोशी अञ्चल अस्पताल विराटनगरमा एक सय शैय्याको बर्थिङ सेन्टर सञ्चालन हुने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. गुणराज लोहोनीले केही समयपछि एकसय शैय्याको बर्थिङ सेन्टर सञ्चालनमा आउने बताए । आगामी २ वर्ष भित्र राष्ट्रिय स्तरको गुणस्तरीय सेवा दिने बताउदै उनले त्यस अनुसारको पूर्वाधार पनि बिकास गर्ने बताए ।

Loading...