fbpx

रोनाल्डोलाई सब्सिच्यूट गरेपछि प्रशिक्षक सार्रीले भने : रोनाल्डो मैदान छोड्दा दुःखी हुन्छन्

एजेन्सी, २५ कात्तिक । इटालियन सिरी ‘ए’ अन्तर्गत साबिकको विजेता युभेन्टसले आफ्नो दसौं जित दर्ता गर्यो । आइतबार राति भएको आफ्नो बाह्रौं खेलमा युभेन्टसले एसी मिलानविरुद्ध १–० गोलको जित निकाल्यो ।

युभेन्टसको मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन पाउलो डेबालाले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा बितेको उक्त खेलको दोस्रो हाफमा डेबालाले गोल गरे । क्रिस्टियानोरोनाल्डोलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका डेबालाले खेलको ७७औं मिनेटमा गोल गर्दै टोलीलाई ३ अंक दिलाए ।

खेलको ५५औं मिनेटमा प्रशिक्षक मौरिजियो सार्रीले रोनाल्डोको सट्टामा डेबालालाई मैदान प्रवेश गराएका थिए । रोनाल्डोले सो खेल ५५ मिनेट खेल्दा गोल हुन पाएको थिएन । तर, डेबाला मैदान प्रवेश गरेपछि उनले टोलीलाई जित दिलाए । त्यसअघि सार्रीले उनलाई च्याम्पियन्स लिगको खेलमा पनि सब्सिच्यूट गरेका थिए । उक्त क्रममा रोनाल्डो सार्रीसँग रुष्ट भएको बताइन्छ ।

तर, च्याम्पियन्स लिगको खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सार्रीले रोनाल्डोलाई आराम दिनका लागि मात्र उनलाई स्थानान्तरण गरेको बताएका थिए । यस्तै सिरी ‘ए’को खेलमा पनि सब्सिच्यूट गरेपछि प्रशिक्षक सार्रीले रोनाल्डोको प्रदर्शनका विषयमा बोलेका छन् ।

‘हामीले रोनाल्डोलाई धन्यवाद दिनैपर्छ किनकी उनले अफ्ठेरो अवस्थामा रहेर भएपनि यो खेल खेले’ प्रशिक्षक सार्रीले स्काई स्पोर्ट्ससँगको कुराकानीमा भने, ‘उनले जति सके त्यति खेले । तर, मैले ठीक अवस्थामा देखेको थिइँन । र, मैले उनलाई स्थानान्तरण गरेको हुँ । उनी त्यस्ता खेलाडी हुन् जो खेल्न मात्र रुचाउँछन् मैदान छोड्दा दुखी हुन्छन् । विशेषगरी उनी मैदानमा कठिन मेहेनत गरिरहेका हुन्छन् ।’

यस्तै सार्रीले रोनाल्डोले अघिल्लो महिनाबाट नै घुँडामा चोट बोकेको बताए । उनले भने, ‘अघिल्लो महिनामा नै उनको घुँडामा सानो समस्या देखिएको थियो । जब उनले कडा रूपमा अभ्यास गर्छन् वा खेल्छन्, उनको लिगामेन्टमा पीडा हुन्छ । तर, उनी यो चोट लुकाउँदै मैदानमा मेहेनत गर्छन ।’

रोनाल्डो अहिले राम्रो अवस्थामा नरहेको भन्दै सार्रीले भने, ‘उनको प्रदर्शनका आधारमा भन्नुपर्दा यो समय उनको अवस्था राम्रो छैन । सबैले राम्रो नै गर्न चाहन्छन् र उनले पनि राम्रो गरे । तर, उनको पीडा देखेर मैले उनलाई सब्सिच्यूट गरेँ ।’

यस खेलमा जित निकालेसँगै युभेन्टसले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । हालसम्म अपराजित रहेको उसले १२ मध्ये १० खेलमा जित र २ खेल बराबरी खेल्दै ३२ अंक बनाएको छ । ऊ सिरी ‘ए’ मा मात्र नभएर युरोपका शीर्ष पाँच लिगमध्ये एक मात्र अपराजित टोली हो ।

युभे यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानमा छ । दोस्रो स्थानमा भने इन्टर मिलान छ । इन्टरसँग ३१ अंक छ भने लिगको तेस्रो स्थानमा रहेको लाजियोसँग २४ अंक छ । यता, युभेन्टससँग पराजित १३ अंकसहित १४ औं स्थानमा छ ।

Loading...