fbpx

ला लिगा : बार्सिलोना र रियल मड्रिडलाई पछ्याउँदै एथ्लेटिको

विराटनगर, २५ कात्तिक । स्पेनिस ला लिगामा साबिकको उपविजेता एथ्लेटिको मड्रिडले जित निकलोको छ । आइतबार राति भएको खेलमा एथ्लेटिकोले स्पान्योलविरुद्ध ३–१ गोलको जित निकालेको हो ।

af

एथ्लेटिकोकै घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन एन्जल कोरेर्रा, अल्भारो मोरोटा र कोकेले समान एक–एक गोल गरेका थिए । खेलमा सुरुआती अग्रता भने स्पान्योलले बनाएको थियो । उसका लागि खेलको ३८औं मिनेटमा सर्जी डर्डरले गोल गर्दै खेलमा ०–१ गोलको अग्रता बनाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा कोर्रेराले गोल गर्दै टोलीलाई बराबरीमा फर्काए । यस्तै खेलको ५८औं मिनेटमा मोरोटाको गोलमा एथ्लेटिकोले अग्रता बनायो । र, खेलको इन्जुरी समयमा कोकेले गोल गरेपछि एथ्लेटिकोले ३–१ गोलको जित निकालेको हो ।

यस जितसँगै एथ्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । उसले १३ खेलबाट २४ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोना र दोस्रो स्थानको रियल मड्रिडसँग समान २५–२५ अंक छ । एथ्लेटिकोभन्दा एक खेल कम खेलेका उनीहरू गोलान्तरको आधारमा अगाडि–पछाडि छन् ।

Loading...