fbpx

सिटीविरुद्ध लिभरपुलको सहज जित

विराटनगर, २५ कात्तिक । इंग्लिस प्रिमियर लिगमा साबिकको उपविजेता टोली लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले साबिकको विजेता म्यानचेष्टर सिटीलाई ३–१ गोलान्तरले हराएको हो ।

लिभरपुलकै घरेलु मैदानमा भएको उक्त खेलमा लिभरपुललाई जिताउन फाबिन्हो, मोहम्मद सालाह र साडियो मानेले समान एक–एक गोल गरे । यता, पराजित टोली सिटीका लागि बर्नान्डो सिल्भाले एक गोल फर्काए । घरेलु टोलीले खेलको छैटौं मिनेटमा सुरुआती अग्रता बनाएको थियो । उसका लागि फाबिन्होले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको १३औं मिनेटमा लिभरपुलले आफ्नो अग्रता दोब्बर बनायो । उसका लागि सालाहले गोल गर्दै पहिलो हाफभरि २–० गोलको अग्रता बनाए । त्यसपछि खेलको ५१औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता तेब्बर बनाए ।

खेलको ७८औं मिनेटमा सिटीका सिल्भाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समयमा गोल नभएपछि लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राख्यो । यस जितसँगै जारी लिगको शीर्ष स्थानमा रहेको उसले दोस्रो स्थानको लेइस्टर सिटीभन्दा ८ अंकको अगूता बनाएको छ । उसले १२ खेलमध्ये ११ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ३४ अंक बनाएको छ । दोस्रो स्थानको लेइस्टर सिटीसँग २६ अंक छ ।

यता, सिटी भने अंक तालिकाको चौथो स्थानमा छ । उसँग २५ अंक छ ।

Loading...