fbpx

सीमा विवाद समाधान गर्न नेपाल – भारत सचिवस्तरीय बैठकको तयारी

काठमाडौं २४ कात्तिक । सीमा सम्बन्धि विवाद समाधान गर्न नेपाल र भारत दुवै पक्षले सचिवस्तरीय बैठक बस्ने तयारी सुरु गरेका छन् । भारतले हालै जारी गरेको राजनीतिक नक्साका विषयमा नेपालमा व्यापक विरोध सुरु भएको छ ।

यस विषयमा नेपाल सरकारले पनि भारतले नयाँ नक्सामा नेपालको भूभाग समावेश गरेको भन्दै विरोध जनाएपछि बैठकको तयारी गरिएको हो । परराष्ट्र सचिव शंकर बैरागीका अनुसार केही साताभित्रै बैठक गर्ने गृहकार्य सुरु गरिएको छ । उनले कुराकानीका लागि छिट्टै टुंगो लाग्ने बताए ।

बंगलादेशका राष्ट्रपतिको भ्रमणपछि भारतीय पक्षसँगको छलफलले गति लिने र मिति पनि तय हुने परराष्ट्र मन्त्रालय स्रोतले जनायो । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौं आउने छन् ।

मन्त्रालय स्रोतका अनुसार बैठकका लागि भारतपनि सकारात्मक छ । गत शुक्रबार नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय विदेश सचिव विजयशेखर गोखलेबीच भएको भेटमा पनि कालापानीमा सीमा विवादका बारे छलफल भएको थियो ।

गत २ नोभेम्बरमा भारतले उत्तर जम्मु–कश्मीरलाई दुई केन्द्रशासित राज्यमा विभाजन गरेपछि नयाँ नक्सा जारी गरेको थियो । सो नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतले समेटेपछि नेपालमा चर्को विरोध भइरहेको छ । भारतको नयाँ नक्सा नस्वीकार्ने सरकारले जनाएको छ ।

Loading...