fbpx

तौल घटाउनका लागि तीते करेलाको जुस

विराटनगर, २४ कात्तिक । करेला एक औषधीय गुणले भरिपूर्ण सब्जी हो । खाँदा स्वादमा तीतो भएपनि करेतलामा फस्फोरस, क्याल्सियम, प्रोटिन, कार्बोहाड्रेट, भिटामिन ‘ए’, भिटामिन ‘बी’ तथा फाइबर प्रशस्त मात्रामा पाइन्छ ।

करेलाले शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याएर शितलता प्रदान गर्छ । शरीरमा जम्मा भएको कफलाई हटाउनुका साथै दमको समस्या भएकाहरूलाई यसको नियमित सेवनले एकदम फाइदा हुने गर्छ । नियमित करेला खाने गर्दा पाचन प्रक्रियालाई सक्रिय बनाएर भोक जगाएर, अरूचि हटाउने, कब्जियत तथा पेटसम्बन्धी हुने विभिन्न रोगहरूलाई निको पार्न मद्दत गर्छ ।

करेला खाने गर्नाले हाम्रो रगत सफा हुनुका साथै रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने गर्छ । तीते करेलाको जुसले उच्च रक्तचाप भएका बिरामीलाई एकदम फाइदा पुर्याउने गर्छ । एउटा अध्ययनअनुसार करेलाको जुसले मोटोपना कम गर्न पनि सहयोग गर्छ ।

करेलाको जुसले इन्सुलिनलाई सक्रिय बनाएर चिनी तथा बोसोलाई कम कम गर्न सहयोग गर्छ । करेलामा क्यालोरी, बोसो तथा कार्बोहाइड्रेट्सको मात्रा कम हुने हुँदा करेलाको जुसले क्यालोरी मेन्टेन गरी बोसोमाथि नियन्त्रण गर्न सहयोग गर्छ ।

एक अध्ययनका अनुसार करेलाले शरिरमा बोसोको मात्रालाई कम गरी नयाँ बोसोयुक्त कोष नियन्त्रणमा पनि गर्न सहयोग गर्छ । यसले तौल घटाउन सहयोग गर्छ । करेलाको तौलमध्ये ८९ प्रतिशत तौल पानीको मात्र मानिन्छ । करेलामा फाइबर र पानीको मात्रा अत्यन्त बढी हुने हुँदा करेलाको जुसले तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

Loading...