fbpx

हाजार्डको प्रदर्शनका विषयमा यसो भन्छन् जिदान

एजेन्सी, २४ कात्तिक । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना नयाँ खेलाडी इडेन हाजार्डको प्रदर्शनका विषयमो बोलेका छन् । जिदानले ला लिगाअन्तर्गत इएबारविरुद्ध जित निकालेपछि आफ्ना स्टार हाजार्डको प्रदर्शनका विषयमा बोलेका हुन् ।

aaa

उपाधि दाबेदार क्लब रियल मड्रिडले शनिबार राति भएको खेलमा रियलले इएबारविरुद्ध ४–० गोलको शानदार जित निकालेको हो । इएबारको घरेलु मैदानमा भएको उक्त खेलमा पाहुना टोली रियललाई जिताउन करिम बेन्जेमाले २ गोल गरे भने कप्तान सर्जियो रामोस र फेडेरिको भाल्भेर्डेले समान एक–एक गोल गरेका थिए ।

जितसँगै अंक तालिकाको दोस्रो स्थानको रियलले बार्सिलोनासँग अंक बराबरी गरेको छ । दुवै टोलीले समान २५–२५ अंक बनाएका छन् । तर, रियल गोलान्तरको आधारमा बार्सिलोनाभन्दा पछि छ । इएबारविरुद्धको खेलमा हाजार्ड सुरुआतीदेखि नै मैदानमा थिए । तर, खेलको ७२औं मिनेटमा उनी मैदानबाट बाहिरिए र उनको स्थानमा भिनिसियस जुनियर मैदान प्रवेश गरेका थिए ।

aaa

यसै सिजन चेल्सीबाट रियल आएका हाजार्डले ला लिगामा ८ वटा खेल खेलिसकेका छन् । जसक्रममा उनले १ गोल र एक असिस्ट गरेका छन् । उनै हाजार्डको विषयमा बोल्दै प्रशिक्षक जिदानले भने, ‘हाजार्डको प्रदर्शन पहिलेभन्दा राम्रो छ । यो हप्ता उनले राम्रो खेलेको छन् । र, इएबारविरुद्ध पनि उनले पहिलो हाफभरि प्रभावशाली खेलेका थिए ।’

यसैगरी जिदानले हाजार्ड रियल मड्रिडको महत्त्वपूर्ण खेलाडी बन्दै गएको बताए । ‘हामी खुशी छौं किनकी, उनी क्बलका लागि धेरै नै महत्त्वपूर्ण खेलाडी बन्दै गइरहेका छन्’, मुभिस्टारसँगको अन्तर्वार्तामा उनले भने, ‘म यसमा विश्वस्त छु ।’

जिदानले मल्लोर्काविरुद्धको हारका कारण टोलीमा जित्ने हौसला बढेको बताए । ‘हामीले मल्लोर्कासँगको हारपछि आफूलाई साबित गर्न निकै मेहनत गरेका छौं । मल्लोर्काविरुद्धको खेल कठिन थियो । तर, त्यो हारपछि हामीले आफ्नो क्षमता बढाएका छौं र अहिले सबै कुरा सजिलो भइरहेको छ ।’

Loading...