fbpx

सर्‍यो ‘लभ यु हमेशा’, अब मंसिरमा प्रदर्शन हुने

विराटनगर, २४ कात्तिक । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्म ‘लभ यु हमेशा’ अब मंसिर १३ बाट प्रदर्शनमा आउने भएको छ । कार्तिक २२ अर्थात गत शुक्रबार रिलिजमा आउने भनिएको यो फिल्म वितरकका कारणले सरेको हो ।

फिल्मलाई कार्तिक २२ गते नेपालमा र त्यसभन्दा एक हप्ताअगाडि कार्तिक १५ गतेका दिन भारतमा प्रदर्शन गर्ने पक्का भएको थियो । तर, ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ प्रदर्शनका लागि सहज बनाउनका लागि लभ यु हमेशा मंसिर १३ मा पुर्याइएको हो । उक्त कुरालाई वितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले बताएका हुन् ।

यवन गुरुङको प्रस्तुति रहेको फिल्मलाई मिलन गुरुङले निर्माणमा सहयोग गरेका छन् । फिल्ममा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जनको साथ ऋचा थापा, शिशीर राणा, गोपाल ढकाल, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतको कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक भास्करकै कथामा तयार भएको फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन, भासुको संगीत तथा कमल राईको कोरियोग्राफी रहेको छ । मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शिव ढकालले छायांकन गरेका छन् । फिल्मलाई काठमाडौं, भारतको कालेबुङ, सिलगुडी तथा सिंगापुर र फिलिपिन्समा समेत छायांकन गरिएको हो ।

Loading...