fbpx

‘घामड शेरे’को नयाँ गीतमा साली–भेनाको माया (भिडियोसहित)

विराटनगर, २४ कात्तिक । गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘घामड शेरे’को नयाँ गीत सार्वजनिक भएको छ । ‘सादा सादा’ बोल रहेको गीतलाई फिल्म प्रदर्शन भएपछि युटुबमार्फत सार्वजनिक गरिएको हो ।

प्रशान्त सुबेदीको स्वर रहेको गीतलाई बुद्धि सागरले लेखेका हुन् । गीतमा कालीप्रसाद बाँस्कोटाले सङ्गीत भरेका छन् । हेमराज बिसीको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक गरिएको लिरिकल भर्सनको भिडियोमा फिल्मका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई स्थान दिइएको छ ।

निश्चल र स्वस्तिमा फिल्म ‘घामड शेरे’ मार्फत पहिलोपटक एकसाथ स्क्रिन सेयर गरेका थिए । समाज र सिस्टमप्रति व्यंग्य गरेको फिल्म मार्मिक, पीडा तथा निकै कमेडी शैलीमा तयार पारिएको छ । वर्षौँ विदेशमा कमाएको पैसाले गाउँमै खेतीपाती गर्ने योजना बोकेर गाउँ फर्किएको एक युवकको जीवनमा आउने उतार–चढावको कथालाई फिल्ममा समावेश गरिएको छ ।

रोमान्टिक तथा कमेडी जनरामा आधारित भएर निर्माण गरिएको फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्का साथै सुष्मा निरौला र बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल र रोय लगायतकलाकारको अभिनय रहेको छ । मानव समाजमा जिद्धि, एकसुरे, अरुले भनेको नसुन्ने र नटेर्ने व्यक्तिलाई घामड भन्ने गरिन्छ र फिल्ममा निश्चलले घामडको पात्र निभाएका हुन् ।

फिल्ममा अभिनेत्री गौरी मल्लको अतिथि भूमिकामा रहेको छ । निर्देशक विसीले होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा रहेर फिल्मको कथा तथा पटकथालाई आफैँ लेखेर निर्माण गरेका हुन् । नरेन्द्र मैनालीको छायांकनमा तयार भएको फिल्मको अधिकांश छायांकन सुर्खेत र काठमाडौँमा भएको हो ।

Loading...