fbpx

अरुका लागि फोहोर सफा गर्ने मरिकहरूको जीवन सधैँ दुर्गन्धित

खाली पेट नाड्डो जिउ खुल्ला आकाशमुनि
सँधैभरि यसैगरी दिन बित्छन् अनि ।
धनीहरूका चिल्ला गाडी सडकमा गुड्दा
कसले बुझ्छ हाम्रा नानी सडकमुनि भोको पेट रुँदा ?

साहित्यकार महानन्द सापकोटाको यो कविताको मर्मअनुसार ठ्याक्कै मिल्छ, नेपालमा मरिक समुदायको अवस्था । उनीहरू मानव भएर पनि आजको दिनसम्म इतिहासमै सबैभन्दा हेपिएको र होचिएको समुदायको रूपमा अझैपनि नारकीय जीवन बाँचिरहेका छन् ।

उदाहरणका लािग विराटनगरको केशलिया मार्गमा रहेको मरिक बस्तीलाई हेरे पुग्छ । उक्त बस्तीले देशभरका मरिक समुदायको अवस्था भनिदिन्छ । मरिक बस्तीका सबैभन्दा जेठा ७६ वर्षीय महावीर मरिकका अनुसार विराटनर सहर सुरु हुँदैदेखि थिए उनीहरू यहाँ । जति बेलादेखि उनीहरू यहाँ आए, नगरलाई उनीहरूले सँधै सफा राखे । आफूले जोखिम उठाए र अरुलाई बिमार लाग्नबाट सँधै जोगाए । एकदिन फोहोर नउठाउँदा कतै शहरमा हैजा फैलेर अरुलाई पिर्लाकी भनेर सँधै चिन्तित रहे । यसैले बिरामी हुँदासमेत सडक बढार्न र फोहोर उठाउन छाडेनन् । सँधै कामप्रति इमान्दार रहे । पहिले गोरु गाडामा पोहोर उठाउँथे भने आजकल महानगरपालिकाको थोत्रो ट्याक्टरमा फोहोर संकलन गर्छन् उनीहरू अझै खाली हात खुट्टाले । फोहोर रोगको खानी हो भन्ने जान्दाजान्दै पनि फोहोर उठाउँदा न्यूनतम स्वास्थ्य सुरक्षाको उपाय पनि अपनाउन पाएका छैनन् उनीहरूले । नगरपालिकाले ठेकेदार कम्पनीसँग सम्झौता गर्दा वर्षमा दुईपटक स्वास्थ्य परीक्षण गराउनु, जुत्ता, पोशाक, मास्क र पन्जा दिनु भनेर सम्झौता त गरेको छ तर त्यो कागजमै सीमित छ । बोल्यो भने भोलिपल्ट फोहोर उठाउन समेत पाउँदैनन् उनीहरू । फोहोर उठाउन नपाउँदा भोकै बस्नुपर्ने अवस्था आउँछ । बोली दिने कोही छैनन् त्यसैले चुपचाप हुन्छन् उनीहरू ।

सबैले होच्याएका, अछुत भनेका मरिकहरूले सफा गरेको नगरमा चिल्ला खाडी गुडाउनेहरू बढेका बढ्यै छन् । नगरमा आलिसान महलहरू बनेका बन्यै छन् । दिन–प्रतिदिन नगर विकासतिर लम्किएको लम्किएकै छ । मानिसहरू झन्–झन् शिक्षित र धनी हुँदैछन् । पहिलेको सानो नगर अहिले महानरपालिका भैसकेको छ । बजारहरू नगरमा फेरिएका छन् । ठूला–ठूला आयोजना बनेका छन् । दुई लेनको सडक चार लेन हुँदा पनि साँघुरो भएपछि अब छ लेनको बनेको छ । नगरवरिपरि रिङरोड बन्दैछ । आधुनिक सपिङ महल ठडएिका ठडियै छन् । भन्सार बन्दरगाह साँघुरो भैसकेकोले अर्बौंको लागतमा नयाँ सुबिधासम्पन्न आईसिपी बनिसकेको छ ।

तर, तराईका मरिकहरूको बस्ती पहिले जस्तो थियो अहिले पनि उस्तै छ । मानिसहरू जस्ता थिए उस्तै छन् । काम जस्तो गर्थे उस्तै गर्छन् । अधिकार जति थियो बरु झन् घटेको छ तर बढेको छैन । पहिले नगरपलिकामा भएको दरबन्दी सबै कटौती भएको छ । उनीहरूलाई सरकारी जागिर दियो भने काम गर्दैनन् भनेर सरकारले सबैको जागिर खोसेर ज्यालादारी बनाएको छ । त्यो पनि साझेदारी संस्थामार्फत । उनीहरू निजी कार्यालय र अस्पतालहरूमा न्यून ज्यालामा काम गर्न बाध्य छन् । दिनभरि निजी अस्पतालमा काम गर्नेहरू एक सय पचासभन्दा धेरै पाउँदैनन् । बोलिसक्नु छैन । सुई फुट्यो नोकरी छुट्यो को स्थितिमा छन् उनीहरू । यसैले चुपचाप आफ्नो नियती भोगिरहका छन् । महिलाहरू बिहान झिसमिसेमै उठ्छन् अनि झाडु समाउँछन् । पुरुष र युवाहरू फोहोर उठाउँछन् । कोही बिहानै घर र कार्यालयमा शौचालय सफा गर्न पुग्छन् । बेलुका घर फर्कन्छन् । कमाइअनुसारको मदिरा दिल खोलेर खान्छन् मन भुल्याउन । आफ्नो जन्म र कर्मलाई धिक्कार्दै सुत्छन् । फेरि भोलि उठ्छन् । उसैगरी काममा लाग्छन् । उनीहरूको बाँचुन्जेल यही चक्र चलिरहन्छ ।

तराईका नगरहरू सफा छन् तर मरिक टोलहरू फोहोर छन् । नगर खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् तर सार्वजनिक शौचालय नहुँदा मरिक बस्ती दुर्गन्धित छन् ।

एसईईसम्म पढेकाहरू भेट्न अझै मुस्किल

मरिक समुदायमा अझै पनि एसईईसम्म पढेका युवाहरू भेट्न गाह्रो छ । भरपर्दो जागिर छैन । मानसिकता अझै जी, हजुरकै छ । भन्नलाई नयाँ नेपाल भनेपनि अझै पनि उनीहरूलाई कसैले सम्मान गरेर तिमी र तपाईँ भन्दैनन् । किशोरी आमाहरूको लस्कर छ मरिक समुदायमा । बिहे गर्ने बेलामा धेरै जना तीनदेखि चार छोराछोरीको आमा बनिसकेका हुन्छन् । बालबालिकाहरू कुपोषणले ग्रस्त छन् । राजनैतिक दलहरूले भोटको बेलामा सहभोज गर्ने भन्दै आउँछन् हात मिलाउँछन् र भोज खाएर फोटो खिचाउँछन् अनि जान्छन् । त्यसपछि शायदै फर्केर आउँछन् । सबैले उनीहरूलाई तेस्रो दर्जाको नागरिकको भनेर व्यवहार गर्छन् । सबैले तँ मात्र भन्छन् । यो बस्तीमा पचास वर्ष काटेका एक जना महावीर मरिक मात्र छन् । उनी सत्तरी वर्षका भए । तर, अरु कोही पनि पचास कट्न पाएका छैनन् । फोहोरको संक्रमण र अत्यधिक मादक पर्दाथ सेवन अनि अस्वस्थ्यकर खाना उनीहरूको मृत्युका कारण हुन् । कम उमेरमै पुरुष भएकोले महिलाहरू चाँडै एकल महिला बन्न बाध्य छन् ।

aa

शिक्षा मात्र हैन स्वास्थ्य सुबिधाबाट पनि बञ्चित छन् तराईका मरिकहरू । बिरामीहुँदा औषधि खानुपर्छ भन्ने थाहा त छ तर अस्पताल जाने बानीमा अभ्यस्त छैनन् उनीहरू । उनीहरूका लागि अस्पताल धेरै टाढा छ । नगरमा शहरी क्लिनिकहरू भएपनि नगरपालिकाले मरिक टोललाई लक्षित गरेर क्लिनिक सञ्चालन गरेका छैनन् । मरिकहरू सबै शहर सफा बनाउन मैला सफा गर्ने काम गर्छन् । नगरपालिकाको आदेशमा फोहोर उठाएर हरेक दिन सडक चिरिच्याट्ट पार्छन् । सडकमा मरेका चौपाया फ्याँक्छन् । नगरमा बस्ने सुकिला मुकिलाहरूले गर्न नहुने शौचालय सफा गर्ने काम गर्छन् । निजी अस्पताल, सरकारी गैरसरकारी कार्यालयहरूको फोहोर सफा गर्छन् । भनाैं बजार, नगर र महानगरपालिकाभित्र बसोबास गर्ने हजारौं, लाखौं जनसङ्ख्याको स्वास्थ्य सेवा गर्छन् ।

दुर्गन्धित बस्तीमा बसोवास

तर, कस्तो गज्जब ! सबैको स्वास्थ्य राम्रो बनाउन सरसफाई गर्ने यी मरिकहरू आफैंचाहिँ अझै फोहोरी बस्तीमा कष्टकर जीवन बिताउन बाध्य छन् । बस्दै आएको बस्तीको जमिन जनसङ्ख्या बढेर साँघुरो न साँघुरो भएको छ । बस्तीवरिपरि फोहोर भएकोले चर्को दुर्गन्ध सहन्छन् उनीहरू । सबैको शौचालय सफा गर्ने उनीहरू सबैका घरमा साँघुरो भएकोले शौचालय छैन । कसै–कसैकोमा मात्र शौचालय छ । महानगरमा सबैका घरमा सफा खानेपानीको धारो हुन्छ । तर मरिक बस्तीमा पानी खाने धारो पनि दिइएको छैन । ‘मरता क्या नहीँ करता’ को जीवन बाँच्न बाध्य छन् तराईका मरिकहरू ।

गरिबीको विश्वविद्यालयको रूपमा मरिक बस्ती निरीक्षण गर्न र ज्ञान आर्जन गर्न पुग्नेहरू धेरै हुन्छन् । जोकोहीहरू बस्तीको दर्दनाक अवस्था देखेर तीन छक्क पर्दै कति साह्रो दुःख भनेर चुकचुकाउँछन् । तर भरपर्दो योजना बनाएर स्वास्थ्यका लागि केही गरिदिन कोही तैयार हुँदैनन् । यसैले तराईका मरिकहरू भन्न थालेका छन्– ‘तपाईंहरू जस्तो त कति आउँछन् आउँछन् हाम्रो बस्तीमा । तर आउँछन्, हेर्छन् सोध्छन् अनि जान्छन् तर हाम्रो लागि केही गर्दैनन् हामी त वाक्क भइसकेका छौं भो अब नआउनुहोस् ।’

गरिबी अध्ययन गर्ने विश्वविद्यालय मरिक बस्ती

हुन पनि हो, सबैका लागि गरिबी अध्ययन गर्ने विश्वविद्यालय भएको छ सफा र ठूलो शहरभित्र बसेको उक्त फोहोरी सानो मरिक बस्ती । नगरले धेरै रूप फेरिसकेको छ तर उनीहरूको रूप कहिल्यै फेरिन सकेको छैन । जे गरेका छन् उनीहरू आफैंले गरेका छन्, जे भएको छ उनीहरू आफैंले लड्दैपड्दै गरेको कर्मअनुसार भैरहेको छ । तर अरुले उनीहरूलाई अझै रक्सीले सकिएको र कहिल्यै सुध्रिन नसक्ने फोहोरी जात भनिरहेका छन् । तर आफूले एकदिन मलमुत्र सोहोर्नुप¥यो भने रक्सी हैन बिष खानुपर्ने स्थिति आउँछ भन्नेचाहिँ कसैले बुझ्न सकेका छैनन् । कसैलाई महशुस भएकै छैन । समाजशास्त्रीहरूको अध्यनअनुसार दलितहरूले जम्मा २०५ प्रकारका प्रत्यक्ष अप्रत्यक्ष छुवाछुत भोग्नुपर्छ । तर सुकिला दलितहरुका लागि तीमध्ये केही हट्न पनि थालेका होलान् तर मरिकहरूका लागि सबै प्रकारका छुवाछुत अझै ज्युँका त्युँ नै छ । सामाजिक, आर्थिक, राजनैतिक र साँस्कृतिक विभेद भोगिनैरहेका छन् चरम रूपमा उनीहरूले ।

दलहरूबाट अझै उपेक्षामा मरिकहरू

सर्वोच्च अदालतको आदेशअनुसार सरकारले दोस्रो संविधानसभाका लागि मनोनित गर्ने २६ जना सभासदमा मरिक (डोम) समुदायको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका थिए मरिकहरुले । तर कसैले चासो दिएन । ‘दलहरुले दलितको मुक्तिको कुरा त खुबै गरे तर ऐतिहासिक संविधानसभामा पनि हाम्रो डोम समुदायको प्रतिनिधित्व शुन्य रह्यो’, बलदेव मरिकले भने । पार्टीहरूले पछिल्लो समानुपातिकमा त एक दुई सांसद बनाउलान् भन्ने आशा थियो तर त्यो पनि आकाशको फल आँखा तरी मरझैँ भयो मरिकहरुका लागि ।

अहिले पनि दलहरू सबैभन्दा पछाडि पारिएको मरिक समुदायका लागि गम्भीर छैनन् । स्थानीय पालिका र प्रदेश सरकारले मरिकहरूको उत्थानकै लागि भनेर कुनै बजेट विनियोजन नगर्नुले पनि प्रष्ट भएको छ ।

देशभर एकजना पनि स्थायी जागिरे छैनन्

डोम मरिक उत्थान संघ विराटनगरका अनुसार हाल देशमा ३० हजारभन्दा बढी छ मरिकहरूको जनसङ्ख्या । वर्षौंदेखि उनीहरू अझै फोहोरी कहलिइरहेका छन् तर पनि उनीहरू आफ्नो जीवन जोखिममा राखेरै भए पनि सरकारी–गैरसरकारी क्षेत्रलाई सफा राख्दै आएका छन् । तर देशभरमा एक जना मरिक पनि पियन पदमासमेत स्थायी जागिरे छैन । सफाइ मजदूरहरू जति छन् प्रायः सबैलाई ज्यालादारी बनाइएको छ । बसोवासको व्यवस्था भरपर्दो छैन । शिक्षा र स्वास्थ्यमा पनि विशेष प्राथमिकता छैन । यसैले पनि राज्यको शासन व्यवस्थाले उनीहरूलाई हेपेको प्रष्ट हुन्छ । ‘अरुले चाहिँ स्थायी जागिर पाउने तर जोखिमपूर्ण काम गर्ने मरिकहरूको पेशाको सुरक्षा अनि ग्यारेन्टीचाहिँ किन नहुने ?’, कोशी अस्पतालमा शव सफा गर्ने काम गर्दै आएका बलदेव मरिक प्रश्न गर्छन् ।

Loading...