fbpx

पत्रपत्रिकामा देश : पश्चिममोत्तर सीमामा सुरक्षाशून्य

विराटनगर २४ कात्तिक । नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्नो सुरक्षा निकाय थपिरहेको भएपनि नेपालका सुरक्षाकर्मी भने १९ किलोमिटरवरै मात्रै छन् ।

सीमादेखि १९ किलोमिटरसम्म नेपाली क्षेत्रमा सुरक्षाकर्मी उपस्थिती नै नभएको समाचार कान्तिपुर दैनिकमा छ । दार्चुलाको व्यास गाउँपालिका १ छाङरु गाउँबाट दक्षिणपूर्व तिंकर खोला नजिकको सीतापुल प्रहरी चौकी नै नेपालको पश्चिमी सीमातर्फको अन्तिम सुरक्षा उपस्थिति हो । जहाँ १३ जना प्रहरी छन् । नेपालको भूमि अतिक्रमण गरेको ९ किलोमिटर क्षेत्रमा भने भारतले आधा दर्जन सुरक्षा निकायलाई राखेको छ । भारतले कालापानी हुँदै लिपुलेकसम्म मोटरबाटो बनाउदै छ ।

नागरिक दैनिकले प्रधानमन्त्री तहबाटै समाधान खोज्न सर्वदलीय सुझाव शिर्षकमा मुख्य समाचार छापेको छ । प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि नेपालको भएको भन्दै प्रधानमन्त्री तहबाटै वार्ता गरि सीमा विवाद टुंग्याउन सरकारलाई सुझाव दिएका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई उसको सीमाभित्र राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका थिए । सुस्ता र कालापानी सीमा विवाद सचिव स्तरबाट समाधान नहुने भन्दै तत्काल प्रभावकारी पहल थाल्न उनीहरुले सुझाव दिएका हुन् ।

कालापानीको विषयमा राष्ट्रिय सहमति भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने प्रमाण र तथ्य संकलन गरि भारतीय पक्षसँग वार्ता र सम्वाद गर्ने बताए । प्रधानमन्त्रीले अहिले प्रमाण र तथ्य संकलन गरिरहेको बताएको बैठकमा सहभागि राजपाका नेता महेन्द्र राय यादवले बताए ।

मन्त्रिमण्डल हेरफेरको संकेत शिर्षकमा नागरिक दैनिक र प्रधानमन्त्रीको सचिवालय फेरिँदै शिर्षकमा कान्तिपुर दैनिकमा समाचार छ । काम चित्त बुझ्दो नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गर्न लागेका छन् । आफ्नो कामको सहजतातको लागि सचिवालयमा रहेकाहरुले छाडेर सहयोग गरिदिन प्रधानमन्त्रीले सल्लाहकार विष्णु रिमाललाई भनेका थिए ।

सचिवालयका सबैले मंसिर १ गतेदेखि लागु हुने गरि छाड्ने निष्कर्ष निकालेको श्रोतले बतायो । सचिवालयका केही सदस्यहरुलाई भने प्रधानमन्त्रीले फेरि बोलाउन सक्ने श्रोतले जनाएको छ । प्रधानमन्त्री ओली सचिवालयसँगै मन्त्रीहरुपनि हेरफेर गर्ने मुडमा छन् । मंसिर दोश्रो सातादेखि मन्त्रीहहरु परिवर्तन गर्ने गृहकार्यमा रहेका छन् ।

Loading...