fbpx

पत्रपत्रिकामा प्रदेश : दोश्रो सन्तान छोरी जन्माउने बढे

विराटनगर २४ कात्तिक । छोरा जन्माउने रहरले लिंग परिक्षण गरेर भ्रुण हत्या गर्ने प्रवृत्तिलाई रोक्न विराटनगरमा सुरु भएको छोरी बचाउ कार्यक्रम प्रभावकारी देखिएको छ ।

विराटनगर महानगरपालिकाकी उपमेयर इन्दीरा कार्कीको विषेश चासोमा पहिलो सन्तान छोरी जन्माउनेलाई नगद पुरस्कार दिएर सुरु गरेको कार्यक्रम विस्तार गर्दै यो आर्थिक वर्षमा भने दोश्रो सन्तान छोरी जन्माउनेलाई पनि प्रोत्साहन गर्न मुद्धती खाता खोलेर छोरीको नाममा २५ हजार रुपैयाँ जम्मा गर्न थालिएको छ । यो कार्यक्रम पनि निकै प्रभावकारी देखिएको उनले बताइन् ।

पैसा पाउने भन्दा पनि छोरी बचाउ भन्ने सन्देशले समाजमा जागरण पैदा गरेको कारण लिंग पहिचान गरि छोरी भए भ्रुण हत्या गर्ने क्रम भने कम भएको बताइन् । यसले गर्दा दोश्रो सन्तान छोरी जन्माउनेको संख्या बढेको उनको भनाई छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पहिलो सन्तान छोरी जन्माउने १४ जना र दोश्रो सन्तान छोरी जन्माउनेको १८ वटा निवेदन दर्ता भएको छ । यो समाचार जनविद्रोह दैनिकमा छ ।

विराटनगर महानगरपालिका भित्र पर्ने केसलिया र सिंघिया खोलामा १२ महिना नै अवैध उत्खनन् हुने गरेको छ । त्यसरी अवैध उत्खनन् गर्ने स्काभेटर, टिपर, ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरपालिका र जिल्ला समन्वय समितिमा बुझाउने क्रमपनि जारी छ । पटक पटक पक्राउ गरे पनि तस्करी नियन्त्रणमा आउन सकेको छैन् । विराटनगर १४ स्थित सिंगिया खोलमा अवैध उत्खनन् भइरहेको सुचनाको आधारमा विराटनगर १४ बाट प्रहरीले ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । यो समाचार ब्लाष्ट टाइम्सले छापेको छ ।

महानगरपालिकाभित्र सञ्चालित विकास परियोजनाको काम ८० प्रतिशत सम्पन्न भएको समाचार उद्घोष दैनिकमा छ । झयडै ६ अर्बको लागतम ५ बर्षदेखि जारी रहेको विराटनगरको ढल, नाला र सडक निर्माणको काम अब २० प्रतिशतमात्रै सम्पन्न हुन बाँकी रहेको छ । विराटनगरको १ सय ६० किलोमिटर सडक चौडा पार्ने र नाला तथा ढल बनाउने काम भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा २ अर्ब ९५ करोडको लागतमा साना तथा मझौला सहर एकीकृत सहरी वातावरण परियोजना सम्पन्न भएपछि २ अर्ब ६१ करोडको लागतमा क्षेत्रीय सहरी विकास कार्यक्रम सञ्चालनमा छ । विराटनगर भित्रको ७ सय किलोमिटर सडक व्यवस्थित गरिएको महानगरका कार्यक्रम व्यवस्थापक भरत न्यौपानेले बताए ।

Loading...