fbpx

नेताहरुले भने- ‘कालापानी र लिपुलेक हाम्रो हो’

काठमाडौं २३ कात्तिक । सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको तर अहिले भारतले आफ्ना नक्सामा समावेश गरेको भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाव दिएका छन् ।

भारतले जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई भारततर्फ देखाएको छ । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । सरकारले पनि लिपुलेक नेपाली भूभाग भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार नगर्ने जनाएको छ ।

सर्वपक्षीय बैठकमा सहभागी पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सीमाविद, परराष्ट्रविद तथा विभिन्न राजनीतिक दलका भारतसँग वार्तामार्फत समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

नेपाली भूमि फिर्ताका लागि तत्काल पहल गर्न सत्तारुढ नेकपाकै नेताहरुसहित प्रमुख विपक्षी कांग्रेस लगायतका दल र विद्यार्थी संगठनहरुले दबाब दिइरहेका छन् । बैठकमा नेताहरुले वक्तव्यवाजी मात्रै गरेर नहुने भन्दै सरकारले तत्काल उच्चस्तरीय बैठक मार्फत नै समस्या समाधानको बाटो खोज्नु पर्ने बताए ।

सरकारले लिएको अडान सही भएको नेताहरुको भनाई छ । भारतले किन यस्तो गर्‍यो भनेर नेपालले सोध्नुपर्ने बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए ।

बैठकका प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी लगायतका भूमि नेपालको भएको बताए । उनले महाकाली नदी पूर्वका हाम्रा सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नु पर्ने बताए । यसमा कांग्रेसको साथ रहने उनको भनाई छ ।

Loading...