fbpx

मोरङका स्थापित कलाकारहरू कोही झन् सक्रिय, कोही निष्क्रिय

चलचित्र निर्माता तथा गोपीकृष्ण फिल्मी प्रालिका अध्यक्ष उद्धव पौडेल मोरङको विराटनगरबाट उदाएका हुन् । उनी मात्रै होइन नायक शिव श्रेष्ठ, पुष्प श्रेष्ठ, दीपाश्री निरौला, पनि मोरङ विराटनगर निवासी हुन् ।

उनीहरू अभिनित धेरै चलचित्रहरू हिट भए र उनीहरू स्थापित पनि भए । उनीहरू जस्तै स्थापित हुने चलचित्र र गीतसंगीतका कलाकारहरू मोरङमा धेरै छन् । फरक यतिमात्र हो कोही बुढ्यौली उमेरमा पनि अझै सक्रिय छन भने कोही जीविकोपार्जनका लागि कलाक्षेत्रबाट निष्क्रिय बसेका छन् ।

चलचित्र निर्देशक बद्री अधिकारी विराटनगर निवासी हुन् ।उनको चलचित्र यात्राअघि नाट्यक्षेत्रमा निकै लगाव थियो । केशव भट्टराई, बद्री अधिकारी, रमेश बुढाथोकीको समूह विराटनगरमा एकताका निकै राम्रोसँग नाट्यक्षेत्रमा जमेको थियो । काठमाडौं हानिएपछि भट्टराई र बुढाथोकी चलचित्र क्षेत्रमा स्टार नै भए । अधिकारी चलचित्र निर्देशक बने । भट्टराई र बुढाथोकी अहिलेपनि चलचित्र क्षेत्रमै क्रियाशिल छन् । अधिकारीले भने निर्देशनको कामबाट हात झिकेका छन् । भट्टराई नेपाल चलचित्र संघको राष्ट्रिय अध्यक्ष छन् ।

चर्चित नायिका रेखा थापा मोरङको सलकपुर निवासी हुन् । उनले बनाएका र अभिनय गरेका दर्जनौँ चलचित्रहरू नेपाली चलचित्र बजारमा हिट भए त्यहीँकारण उनी रातारात स्टार भइन् । उनी स्थापित नायिकाका रूपमा अहिले चलचित्र क्षेत्रमा चिनिछिन् । चलचित्र क्षेत्रमा सक्रिय उनी निर्माता–निर्देशिकाको रूपमा पनि चिनिन्छिन् । अहिलेका चलेका नायक जीवन लुइँटेल मोरङ कर्जुना निवासी हुन् । उनका बुबा–आमा र मोडल भाइ निराजन अहिले विराटनगर बस्छन् । जीवन भने अहिले अमेरिकामा छन् र उनी सिने क्षेत्रमा निष्क्रिय प्रायः छन् ।

शिल्पी थिएरटरका प्रमुख नाट्यकर्मी घिमिरे युवराज पनि मोरङको कर्जुना निवासी हुन् । अहिले उनी काठमाडौं बसेर नाट्य क्षेत्रमा क्रियाशील छन् । उनकै समूहमा कार्यरत कमलमणि पौडेल पनि मोरङ निवासी हुन् । उनी मात्र होइन, गुरुकुलका प्रमुख वरिष्ठ नाट्यकर्मी सुनिल पोख्रेल र उनका भाइ गायक सुगम पोख्रेल पनि मोरङको मंगलबारे निवासी हुन् । गायक बाबु बोगटी मोरङ लेटाङका हुन् ।

लोकगायक महेश बुढाथोकी मोरङ पथरीका हुन् । बुढाथोकीले ‘काफलगेडी कुटुक्कै’ बोलको गीत गाएर चर्चा कमाएका थिए । हाल उनी बन्द व्यवसायमा सक्रिय छन् । कलाकार श्रीकृष्ण लुइँटेल मोरङ सलकपुरका हुन् । उनी गायन र अभिनय दुवै क्षेत्रमा अझै सक्रिय छन् । चलचित्र अभिनेता बिपिन कार्की हाल विराटनगरमा बसोवास गर्छन् । हास्य कालाकार पारस थापा पनि विराटनगरका रैथाने हुन् ।

चर्चित नाट्य कलाकार भरत गुरागाइँ मोरङको झोराहाट निवासी हुन् । उनी हाल नाटक क्षेत्रमा सक्रिय छन् । पुराना स्थापित नाट्कर्मी माया पौडेल, उनका श्रीमान् स्व.चर्तुभज आशावादी र उनीहरूका छोरा निर्देशक प्रसन्न पौडेल विराटनगर निवासी हुन् । प्रसन्न विषेशगरी म्यूजिक भिडियो निर्देशनमा चर्चित छन् । उनले निर्देशन गरेका दर्जनौँ म्यूजिक भिडियो हिट भएका छन् ।

पछिल्लो समयमा चलचित्रमा स्टार बनेकी नायिका शिल्पा पोख्रेल विराटनगर निवासी हुन् । उनले अभिनय गरेको चलचित्र लज्जा निकै हिट भयो । चर्चित मोडल सिम्पल खनाल विराटनगर निवासी हुन् । उदयमान नायिकाहरू अनु शाह, अनिता आर्चायलगायत पनि मोरङ कै हुन् । वरिष्ठ गायक तथा संगीतकार रामा मण्डल पनि विराटनगर निवासी हुन् । रामले यो केटीको ठीक छैन चाला, कहाँ छौ कहाँ बोलको चर्चित गीत गाइसकेका छन् । उनी हाल विराटनगरमै बसेर गीतसंगीतको यात्रामा सक्रिय छन् ।

नाम चलेका सुमित खड्का, फुर्वा शेर्पा, साजन राई पनि विराटनगर निवासी हुन् । सुमितले ‘गोली सिसाको मेरो माया’ भन्ने गीतदेखि देशभक्त्त भावनाका गीतहरू गाएर चर्चा कमाइसकेका छन् । वरिष्ठ अभिनेता मोहन निरौला, हास्य अभिनेत्री दीपाश्री निरौला पनि मोरङ निवासी हुन् । दिपाश्री निरौला चर्चित अभिनेत्री मात्र नभएर चलचित्र निर्देशिकाका रूपमा पनि स्थापित भइसकेकी छन् ।

सांसद तथा जनवादी गायिका जुठबहादुर खडगी (टुहुरे) ‘जेबी टुहुरे’ पनि मोरङको मधुमल्ला निवासी हुन् । हाल ७६ वर्षमा प्रवेश गरका जेबी अझै जनवादी गायनमा सक्रिय छन् । भर्खरै मात्र उनले एक नम्बर प्रदेशको राजधानी विराटनगरमा एकल सांगीतिक साँझ गरेर सबैलाई मन्त्रमुग्ध पारेका थिए । मधु गुरुङ, गायक तथा संगीतकार जेबी थुलुङ, पुराना गायक गंगा वरदान, सञ्जीव धिमाल मोरङको बेलबारी निवासी हुन् । युवा गायक तथा संगीतकार विनोद खम्बु पनि मोरङ निवासी हुन् । तुलसी पराजुली सुन्दरदुलारी निवासी हुन् ।

तेस्रो नेपाली तारा प्रताप लामा पनि मोरङ निवासी हुन् । जनवादी गायकहरू गोपाल नेपाल, प्रदीप लम्साल पनि मोरङका हुन् । यसैगरी साहित्यकार कलाकार खेम नेपाली, विवश पोखरेलहरू पनि मोरङकै हुन् । कलाकार रामभजन कामत, मिलन नेपाली पनि मोरङकै हुन । कामत विराटनगर निवासी हुन् भने नेपाली मोरङको पथरीशनिश्चरेका बासिन्दा हुन् । कामत र नेपाली निरन्तर चलचित्र र नाट्य क्षेत्रमा सक्रिय छन् ।

चर्चित नायक नवल खड्का पनि कुनैबेला मोरङको विराटचौकमा बस्ने गर्दथे । नायक खड्का पनि चलचित्र क्षेत्रमै आवद्ध छन् । भजन गायक तथा संगीतकार विक्रमश्री बास्तोला डाँगीहाट निवासी हुन् । अर्का गायक सीताराम बास्तोला मधुमल्ला निवासी हुन् । पप गायक सीताराम पोखरेल पनि मोरङ विराटनगरका हुन् । गायिका जुनु रिजाल, अभिनेता पुष्प श्रेष्ठ पनि मोरङको विराटनगर निवासी हुन् ।

गायक डम्बर नेपाली, चीत्र राई, गायिका योजना पूरी, तारा लिम्बू, मनु लिम्बू, नायिका सिर्जना सुब्बा, नायक श्री धिमाल र मोडल भानु धमला मोरङको राजघाट निवासी हुन् । स्वर्गीय नाट्यसम्राट कामेश्वर झा पनि विराटनगरका हुन् । उनको केही वर्षअघि मृत्यु भएको थियो । यस्तै संगीत निर्देशक कुशेश्वर राई पनि विराटनगर निवासी हुन् । उनी विराटनगरमा संगीत शिक्षालय सञ्चालन गर्छन् ।

चर्चित मूर्ति कलाकार मञ्जुल मितेरी मोरङ टाडीका हुन् । मञ्जुल हाल जापानमा विश्वको सबैभन्दा ठूलो बुद्धको मूर्ति निर्माण गरिरहेका छन् । उनकी पत्नी कौशिला राई मोरङको उर्लाबारीमा बसेर व्यवसायिक मूर्तिकलामा सक्रिय छिन् । यस्तै कलाकार विक्रमश्री पनि मोरङको रमाइलोमा बस्ने गर्दथे । हाल विक्रमश्री सुनसरीको इटहरीमा बसेर काव्य साधनामा व्यस्त छन् ।

Loading...