fbpx

लघुकथा : औकात

रामप्रसाद पौडेल

‘बाबा, बाबा औकात भनेको के हो ?’ पाँच वर्षीया आरतीले उत्सुक हुँदै सोधी ।

‘ह्या झिँजोल्न नआइज न, यहाँ अफिसको काम नसकी भाछैन ।’ कम्प्युटरमा आँखा गाड्दै बाबुचाहिँले छोरी पन्छायो । ‘आमा, आमा औकात भनेको के हो ?’ उही प्रश्न आमासामु मिल्काई आरतीले । ‘एकछिनपछि भन्छु ल, अहिले किचनमै व्यस्त छु, फेरि तेरो बाउ ढिलो भो भनेर कुर्लने बेला भो ।’ आमाचाहिँले पनि टारेर पठाई ।

यत्तिकैमा छिमेकमा दुई नारीको झगडा सुनियो । तँ तँ र म म हुँदै झगडाले उग्र रुप लियो । अग्लीचाहिँले होचीलाई फर्लक्कै फरिया उचालेर देखाई ‘इस् तेरो थुतुनो मेरो ….जस्तो !’

आरती छेउमै उभिएर तमासा हेरिरहेकी बुढी आमैले जिब्रो टोक्दै फुसलाइन् ‘हेर राँडीले औकात देखाकी !’ अब आरतीलाई थाहा भो किन बाबुआमाले आफूलाई पन्छाएका रहेछन् । उसले आफैं औकातको अर्थ बुझी ।

हाँडिखोला – २ मकवानपुर
हाल : विराटनगर

Loading...