fbpx

प्रश्नहरूको चंगुल

रमेशचन्द्र अधिकारी,मोरङ


प्रश्नै प्रश्नले कुँजिएर
थला परेको छ जीवन यतिबेला ।
सम्झिरहेछु त्यसबेला
तिमीले फुलाईदिएको रातो सपना
अटेसमटेस थियो मेरा आँखाभरी ।
रुखहरु,
अँध्याराहरु,
रातहरु,
झाडीहरु,
खोलाका बगरहरु,
काँसबारी,सुनसान,एकान्त सबैतिर
भेटिन्थे कसिला मुठ्ठीहरु अनि
मुठ्ठीहरु भन्दा कठोर लाग्ने
सङ्गिन निशानीहरु,
जहाँ ताकिन्थ्यो
विद्रोहको ज्वाला लप्किरहने आँखाहरु
अनि ढालिन्थ्यो छिनभरमै
आफ्नै जस्ता लाग्ने सपना ।

त्यतिबेला
सोधेको थिएन बगरको ढुङ्गोले
कहिल्यै मलाई मेरो परिचय अनि
मेरा गोडाहरुले टेक्नुपर्ने गन्तव्य,
हावाका झोक्काहरु कैयन पटक
ठोक्किएर गए परेलीहरुमा
तर प्रश्न गरेनन् कहिल्यै
रहरहरु बोकेर डुलिरहेका आँखाहरु बारेमा ।
जिन्दगी बैंसको रुख बनेका बखत पनि
फक्रन दिएनौ तिमीले
रातो गुलाफ मन भरिने गरि
र त सर्लङ्गै काँडाघारी मात्र बनिरह्यो जिन्दगी
तिमीले सुनाएको क्रान्तिको कथामा
खलपात्रहरुको अनुहार भने
कस्तो हुन्छ भनेरचिनाएनौ कहिल्यै ।

जान्नु छ मलाई
म कुन वर्गमा पर्छु आज ?
सपना बनेर उदाउने जून
कुन पथ भएर अस्ताउँछ ?
खोलाहरु क्रान्तिकारी हुन् / होइनन् ?
पहाडहरु यथास्थितिवादी नै हुन् त ?
हावा वेगले बहेको / छिचोलेको
अग्रगामी छलाङ मारेको हो /होइन ?
आदि-इत्यादी ।

अझ महत्त्वपूर्ण
यो शरीरभित्र अड्किएको गोलीले
किन ऐँठन पारिरहन्छ ?
किन बिथोलिरहन्छ
तिमीले फुलाईदिएको सपनालाई बारम्बार ?
मगजमा डुब्दै तैरिँदै गर्ने तिमीलाई
मेरो अन्तिम प्रश्न
तिम्रो बुझाईमा अब म सर्वहारा रहें कि ?
मेरो सोँच सामन्तवादी ?

9842162973

Loading...