fbpx

आलमको थुनछेक बहसमा पिडिततर्फको बयान सकियो

रौतहट २२ कात्तिक । बम विस्फोटमा परेर घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका निलम्बनमा परेका सांसद मोहम्मद अफताव आलमको थुनछेक बहसमा पिडित पक्षको बहस सकिएको छ ।

जिल्ला अदातल गौरमा रौतहटको राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरिएको छ ।

आलममाथि लगाइएका तीन मुद्दामा शुक्रबार वादी पक्षको तर्फबाट बहस भएको हो । वादी पक्षबाट पर्साका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, सहन्यायाधिवक्ता रामप्रसाद पन्थी, जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, कुमार खतिवडा, दिनेश त्रिपाठी, अधिवक्ता गोविन्द शर्मा बन्दीलगायतका १० जनाले बहस गरे ।

बादीतर्फका अधिकांश कानुन व्यवसायीले प्रतिवादी आलमसहित घटनामा सामेल भएका सबैलाई मिसिलअनुसारको हदैसम्मको कानुनी कारबाही गर्नु पर्ने र पुर्पक्षका लागि थुनामा राखेर कारबाही अगाडि बढाउन माग गरे ।

बहसका क्रममा कानुन व्यवसायीहरुले तत्कालीन समयका गृह मन्त्रीदेखि लिएर प्रमुख जिल्ला अधिकारी सम्मलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरे । यस्ता क्रुर अपराधमा अन्तर्राष्ट्रिय अदालतसम्ममा मुद्दा दायर गर्न सक्ने कुरा बिहीबार बहसमा उठेको छ ।

सो घटना घटेका बेला कांग्रेस नेता कृष्णप्रसाद सिटौला गृह मन्त्री र दुर्गा भण्डारी रौतहटका प्रमुख जिल्ला अधिकारी थिए । वादी पक्षको बहससँगै अदालतको समय सकिएकोले आइतबार ११ बजेको समय तोकिएर बिहीबारको बहस टुङ्गिएको हो ।

पहिलो संविधान सभा निर्वाचन ताका २७ चैत्र २०६४ मा भएको बम विस्फोटमा परेका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित अन्य घाइतेहरुलाई जिउँदै इँटा भट्टामा पोलेको आरोपमा पक्राउ परेका क्षेत्र नम्बर २ का सासंद अफताब आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

Loading...