fbpx

सहकारीसँग सहकार्य गर्न प्रदेश सरकार तयार छ- मुख्यमन्त्री राई

विराटनगर २२ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सहकारीसँग सहकार्य गर्दै अर्थतन्त्रलाई बलियो बनाउने बताएका छन् ।
प्रदेश सरकारका महत्वपूर्ण परियोजनाहरुमा सहकारीहरुको सहभागिता सुनिश्चित गर्ने भन्दै उनले सहकारीको माध्यमबाट समृद्धिको अभियान सफल बनाउने बताए ।
विराटनगर शुक्रबारदेखि सुरु भएको दुई दिने कार्यशाला गोष्ठिमा मुख्यमन्त्री राईले सहकारीसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका हुन् ।
प्रदेशसभाबाट सहकारी ऐन पारित भइसकेको र सार्वजनिक निजी सहकारी साझेदारी सम्वन्धी कानूनसमेत पारित गरेर प्रदेश सरकारले सहकारीले परियोजनाहरुमा लगानी गर्नसक्ने आधार तयार पारिसकेको मुख्यमन्त्री राईले बताए ।
लगानी सम्मेलन आयोजना गरी सहकारीहरुलाईसमेत प्रदेश विकासका महत्वपूर्ण योजनामा लगानीको अवसर दिइने उनको भनाई छ । मुख्यमन्त्री राईले सहकारीले उत्पादन बढाउन तथा उद्योग सञ्चालन गर्न कुनै कानूनी अड्चन भए सुझावका आधारमा त्यसलाई सच्याउने बताए ।
सहकारीहरुले कृषि तथा उत्पादनलाई उच्च महत्व दिनु पर्ने भन्दै मुख्यमन्त्री राईले कृृषिको व्यवसायिकीकरण, आधुनिकीकरण, औजारीकरण गर्दै उत्पादन र रोजगारी अभिवृद्धि गर्ने तर्फ ध्यान दिन आग्रह गरे ।
प्रादेशिक गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष केशवप्रसाद बडालले दिगो विकास लक्ष्यको कार्यान्वयमा स्थानीय तह र सहकारीको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारीले गरिवी निवारणका लागि काम गर्नुपर्ने र त्यसमा सरकारले साझेदारी गर्ने बताए ।

देशका १२ वटा सहकारी संस्था समस्याग्रस्त हुँदा ७ हजार शेयर लगानीकर्ताहरुको ४ अर्ब २१ करोड लगानी जोखिममा परेको भन्दै असल सहकारी सञ्चालकहरु छनौट गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

Loading...