fbpx

एक नम्बर प्रदेशका सय विद्यालयमा डिजिटल शिक्षा

विराटनगर, २२ कात्तिक । एक नम्बर प्रदेश सरकारले एकसय सामुदायिक विद्यालयमा डिजिटल शिक्षा अभियानको सुरुवात गरेको छ ।

डिजिटल प्रवेश बनाउने अभियान अन्तरगत प्रदेश सरकारले पहिलो चरणमा प्रदेश एकका एकसय विद्यालयहरुमा डिजिटल शिक्षा अभियानको सुरुवात गरेको हो । अभियानको उद्घाटन भने गत असार अन्तिम साता भएको थियो । शुक्रबारबाट प्रदेशका ६४ स्थानीय तहका एक सय विद्यालयमा यो कार्यक्रम सुरु भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र सम्वन्धित स्थानीय तहका प्रमुहहरुको उपस्थितीमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिलो चरणको डिजिटल शिक्षा आरम्भ भएको जानकारी गराएको हो । परम्परागत सूचना प्रणालीमा सिमित नरहेको भन्दै आधुनिक र दु्रत सूचना प्रविधि उपयोगतर्फ रुपान्तरण भइरहेकोले डिजिटल शिक्षाको महत्व बढेको बताइएको छ ।

कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले डिजिटल प्रदेश निर्माण गर्ने कामको सुरुवात भएको बताए । युग अनुसार डिजिटल प्रविधिलाई सबै क्षेत्रसँग जोड्न सरकार क्रियाशिल रहेको उनको भनाई छ । ‘डिजिटल शिक्षाको अभियान सरकारले त्यतिकै ल्याएको छैन,’ मुख्यमन्त्री राईले भने ‘आजको युगको आवश्यकता भइसकेको सूचना प्रविधिको विकासको उपयोग गर्न हामी यो कार्यक्रमलाई निरन्तरता दिनेछौं, बीचैमा बन्द हुन्छ कि भन्ने द्विविधा राख्न जरुरी छैन ।’

कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले स्थानीय तहको ध्यानाकर्षण गराउन तथा डिजिटल शिक्षाको महत्व र त्यसको आवश्यकता बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरेको बताए । विद्यालयको शैक्षिक सुधारकालागि अनेकौं तत्वहरुले प्रभाव पार्ने भएकोले त्यसमध्येको डिजिटल साक्षरताको अभियान मार्फत विद्यालय र अभिभावकलाई जोड्न खोजेको उनको भनाई छ ।

पहिलो चरणमा एक सय विद्यालयबाट नमुना कार्यक्रम सुरु गरेपनि मंसिर १ गतेबाटै थप १ सय विद्यालयमा कार्यक्रम विस्तार गरिने मन्त्री घिमिरेले बताए । प्रदेशका २ सय विद्यालयले आफ्नो क्षेत्रभित्रका थप ५ विद्यालयलाई प्राविधिक सीप प्रवाह गर्नुपर्ने कार्यविधि रहेकोले यसै शैक्षिक सत्रभित्र प्रदेशका एक हजार विद्यालयमा डिजिटल शिक्षा कार्यक्रम लागू भइसक्ने छ ।

प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेलले शैक्षिक गुणस्तर सुधारको अभियानमा सबैको सहयोग र सहकार्य आवश्यक हुने बताइन् । कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले प्रदेश सरकारले महत्वपूर्ण कार्यक्रम अघि बताए । उनले विद्यालयहरु मार्फत डिजिटल शिक्षा प्रदान गर्दैगर्दा कम्प्युटर मात्र वितरण गर्ने काम नगरोस् भनी सचेत गराए ।

Loading...