fbpx

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप : आर्मी फाइनलमा

विर्तामाेड, २२ कात्तिक । त्रिभुवन आर्मी क्लब झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा सिक्कीम आक्रामक क्लब विरुद्ध कठिन जित निकाल्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी सुटआउटमा सिक्किम विरुद्ध ४–३ को नतिजा निकाल्दै आर्मीले फाइनलसम्मको यात्रा तय गरेको हो ।

आर्मीका लागि पेनाल्टीमा दिपक गुरुङ, बिकास तामाङ, राजिव गुरुङ र विवेक बस्नेतले गोल गरे । कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोल रक्षक मनोज प्रधानले रोकिदिएका थिए ।

यता सिक्किमका खेलाडी बिकास क्षेत्रीले गरेको प्रहार बारमा लागेर फर्किएको थियो भने एन्थेनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवस चौधरीले रोकेका थिए । विरेन प्रधान, मनोज कास्वा र करण राईले गोल गरेका थिए ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतको आसामिस क्लब मोलवेविरुद्ध जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । उद्घाटन खेलमा आयोजक जायोन स्पोट्स क्लबलाई पराजित गरेको सिक्किमले क्वाटर फाइनल खेलमा बेलबारी ११ लाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

उपाधिकालागि आर्मीले चर्च ब्वाइज काठमाडौं र नेपाल पुलिस क्लबबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको बिजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपबिजेताले ६ लाख २५ हजार पुरस्कार पाउने छन् ।

Loading...