fbpx

निर्देशिका कार्यान्वयन नगर्दा विराटनगरमा फोहोरमैला व्यवस्थापनमा समस्या

विराटनगर, २२ कातिक । जथाभावी फोहोर फाल्नेहरूलाई कानूनी कारवाही गराउनका लागि लागू भएको निर्देशिका कार्यान्वयनमा नल्याउँदा विराटनगर महानगरपालिकामा फोहोरमैला व्यवस्थापन अझै समस्या बनिरहेको छ । फोहोरमैला संकलन कार्यलाई व्यवस्थित गर्न ०६८ देखि लागू भएको फोहोरमैला निष्काशन संकलन तथा अन्तिम बिर्सजनसम्बन्धी निर्देशिका महानगरपालिकाले कार्यान्वयनमा ल्याउन नसक्दा फोहोरमैला अझै समस्या बनिरहेको हो ।

शहर बजारको फोहोरमैला व्यवस्थापन गर्नका लागि सरकारले निर्देशिका जारी गरेको ८ वर्ष पुगिसकेको छ । तर, अझै विराटनगर महानगरपालिकामा भने उक्त निर्देशिका कार्यान्वयनमा आउन सकेको छैन । उपभोक्तावादी संगठन पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले निर्वाचित जनप्रनिधिहरू महानगरवासीको स्वास्थ्यप्रति संवेदनशील नहुँदा फोहोरमैला निर्देशिका कार्यान्वयनमा ल्याउन नसकेको बताए । उनले सबै वडा कार्यालयहरूले चासो दिएर प्रशासन र नागरिक समाजसँग सहकार्य गरेमा फोहोरमैला निर्देशिका कार्यान्वयन हुनसक्छ भने ।

aa

विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले विराटनगर सहरको सडक र ढलनाला स्तरोन्नति र ल्याण्डफिल साइटको अभावमा फोहोरमैला कार्यान्यवनमा ल्याउन समस्या भइरहेको बताउँछन् । फोहोरमैला निर्देशिका कार्यान्वयन नहुँदा विराटनगर महानगरमा जथाभावी फोहोर फाल्नेक्रम अझै रोकिएको छैन । जसले गर्दा सडक मात्र नभएर टोल बजारसमेत दुर्गन्धित भइरहेका छन् ।

विराटनगरको फोहोरमैला व्यवास्थामा साझेदारी गरिरहेको वेस्टमेनेजमेन्ट परियोजनाका प्रमुख देवीप्रसाद आचार्य महानगरपालिकाले निर्देशिका कार्यान्वयनमा ल्याएर जनचेतना वृद्धि गराएमा फोहोरमैला समस्या समाधान हुने बताउँछन् ।

जथाभावी फोहोर फाल्नेलाई यस्तो छ कारवाहीको व्यवस्था

महानगरपालिकाले जारी गरेको फोहरमैला निष्काशन, संकलन तथा अन्तिम बिर्सजन निर्देशिकाअनुसार विराटनगर उपमहानगरपालिकाभित्र सडक र सार्वजनिक स्थानमा फोहोर फ्याँक्नेले पहिलो पटकमा ५ सयदेखि ५ हजारसम्म जरिवना तिर्नुपर्ने छ । कुहिने र नकुहिने फोहर नछुट्याई फाल्न पाइने छैन । सामाजिक कार्य सम्पन्न गरिसकेपछि सोझै सडकमा ल्याएर फोहोर अलपत्र फ्याँक्नेले पनि तोकेअनुसार ५ देखि १५ हजारसम्म जरिवाना तिर्नुपर्ने छ । अटेर गर्नेलाई सार्वजनिक ऐनअन्र्तगत प्रहरी हिरासतमा पठाएर मुद्दा चलाउन सकिन्छ । निर्देशिकाअनुसार फुटपाथ पसलहरूले आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्नुपर्ने छ । जथाभावी फोहोर गरेमा उनीहरूले १ हजार देखि ५ हजारसम्म जरिवानाको भागीदार हुनुपर्ने छ ।

aa

यसैगरी सडकको पेटीमा निर्माण सामग्री थुप्रार्नेहरूले ५ देखि १० हजार जरिवाना तिरी २४ घण्टाभित्र हटाउनुपर्ने छ । यसैगरी शौचालयको फोहोर नालामा मिसाउनेलाई १ देखि ५ हजारसम्म र मासुपसल र होटलहरूले मासुजन्य फोहोर जताततै फ्याँकेमा ५ देखि १५ हजारसम्म जरिवाना तिर्नुपर्ने व्यावस्था गरिएको छ ।

सरकारले राजपत्रमा प्रकाशित गरी प्रतिबन्ध लगाएका रसायनिक र औद्योगिक फोहोर फ्याँक्नेलाई ५० हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको छ । म्याद नाघेको औषधि र विषादी पनि सडकमा फ्याँक्न पाइने छैन । सरकारी र निजी अस्पतालहरूले आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्नुपर्नेछ ।

यसैगरी निर्देशिकामा बिनाअनुमति फोहोरको कारोवार गर्नेलाई पनि १५ देखि २५ हजारसम्म जरिवाना तोकिएको छ । कन्टेनरमा बिर्सजन गरिएका फोहोर जथाभावी चलाएर दुर्गन्धित पार्नेलाई पनि दण्डको व्यवस्था छ । साथै फोहोर बिर्सजनमा अवरोध गर्नेलाई १० देखि ५० हजारसम्मा जरिवाना र १५ दिनदेखि ३ महिनासम्म कैदको व्यवस्था छ ।

खुल्ला दिसापिसाब गर्ने र बन्द हड्ताल गर्नेलाई पनि कारवाहीको व्यवस्था

यसैगरी निर्देशिकामा नगरमा जथाभावी पिसाव गर्नेलाई कान समातेर उठबस गराइने र अटेरगरेमा पक्राउ गरिने निर्देशिकामा उल्लेख छ । नटेरेमा निर्देशिकामा फोहोरमैला संकलन र ढुवानीमा अवरोध पुर्याउनेलाई सोझै सीडीओले ५ देखि १० हजारसम्म जरिवाना गर्न सक्ने छन् । सफाइ क्षेत्रमा बन्दहडताल गर्नेले पनि सोहीअनुसार कारवाहीको भागीदार बन्नुपर्ने छ ।

निर्देशिका पालना गराउन नगरपालिकाले सफाइ मजदूरहरूको अलग्गै टास्कफोर्स गठन पर्नेछ । फोर्सले नियम उल्लंघन गरेको पाइएमा सोझै मानिस पक्राउ गरेर नगरपालिकामा हाजिर गराउन सक्ने छन् । अटेर गर्नेहरूलाई प्रहरीको सहयोगमा थुनामा पठाइदिन पाउँछन् ।

विराटनगर महानगरमा दैनिक ७० टन फोहोर उत्पादन

२ लाख ५० हजार बराबर जनसंख्या भएको विराटनगर उपमहानगरपालिकामा दैनिक ७० मेट्रिक टन फोहोर उत्पादन हुँदै आएको छ । सीमित बजेट र नपाबासीको असहयोगले फोहोर व्यवस्थापन उचित रूपले नहुँदा विराटनगर दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ । निर्देशिका कार्यान्वयन नहुँदा विराटनगरको फोहोरमैला व्यवस्थापनमा जनसहभागिता पनि जुट्न सकेको छैन । अझै आफ्नो घर टोलको फोहोर अरुले नै उठाइदियोस् भन्ने मानसिकता कायमै छ ।

हाल विराटनगर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन परियोजनासँग मिलेर वार्षिक सम्झौता गरेर दैनिक ७० टन फोहोरको व्यवस्थापन गर्दै आएको छ । परियोजनाले फोहोर संकलन गरेबापत जनताबाट मासिक २७ लाख उठाउने गरेको छ । विराटनगर महानगरपालिकाले ११ लाख ४० हजार मासिक दिइरहेको छ । परियोजनालाई विराटनगरको १ देखि १७ वडासम्मको फोहोर उठाउने जिम्मेवारी छ ।

Loading...