fbpx

उपल्लो मुस्ताङमा पर्न थाल्यो हिउँ

मुस्ताङ, २२ कात्तिक । उपल्लो मुस्ताङमा हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको हो । यहाँ यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए ।

चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ। जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई–तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ । चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् ।

चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् । घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन्। यो समयमा उनीहरुले घुम्ती व्यापार पनि गर्ने गर्छन् । रासस

Loading...