fbpx

‘झुट बोल्दा आनो आउँछ’ भन्ने कुरा गलत, यस्तो छ ‘आनो’ आउनुको कारण

विराटनगर, २२ कात्तिक । धुलो, घाममा धेरै समय बसेमा, केही कुरालाई टोलाएर धेरै बेरम्म हेरिरहेमा वा मोबाइल, ल्यापटप जस्ता सामग्रीहरि बढी प्रयोग लगायत असरले आँखालाई प्रभाव पार्छ । आँखामा धेरै समयसम्म जोड पर्न जाँदा, ब्याक्टेरियाको संक्रमण तथा लापरवाहीको कारणले आँखामा समस्या उत्पन्न हुन थाल्छ ।

आँखाको ढकनीमा भएको बोसोयुक्त ग्रन्थीमा जीवाणूको संक्रमण भएपछि आँखाको ढकनी बाहिर, भित्र, तल तथा माथि पीडादायक गाँठो बन्छ र उक्त गाँठोलाई आनो भन्ने गरिन्छ । आनो एक प्रकारको घाउखटिरा हो जुन आँखाको परेलाको रौं उम्रिने ठाउँको प्वालमा ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ । परेलाको जरो वा परेलाको तेल ग्रन्थीमा पीप जम्नुलाई सरल भाषामा आनो आउनु भनेको हो ।

‘झुट बोल्दा आनो आउँछ’ भन्ने कुरा चाहिँ गलत हो । परेलामा चायाको समस्या, मधुमेहको रोग भएकाहरूलाई, आँखा धेरै मिचिरहने बानी जस्ता कारणले गर्दा आँखामा आनो निस्किने गर्छ । यो जुनसुकै उमेर समूहका मानिसलाई हुने समस्या भए पनि आनो विशेषगरी बालबालिकामा बढी देखिन्छ । सामान्य देखिएको आँखा को रङभन्दा रातो देखिएमा आँखामा केही समस्या सुरु भएको बुझ्नुपर्छ ।

एक्कासि आँखा रातो हुनु, सुन्निनु, चिलाउनु, दुख्नु, आँसु र कचेरा धेरै आउनु भनेको आनो आउने लक्षण हुन सक्छ । आँखामा आएको आनोलाई घरमै उपचार गरी निको पार्न सकिन्छ । सफा नरम कपडा चिसो पानीमा भिजाएर दिनमा ३–४ पटक सेक्नुपर्छ । यसरी सेक्दा बन्द रहेका ग्रन्थीलाई खुलाइ पीडा कम हुन्छ र आखाँको वरिपरि सफा गर्न पनि सजिलो हुन्छ । घरमै आनोलाई निचोर्ने पनि सकिन्छ ।

तर, आनो आएको बेलामा आखाँलाई मिच्नु, आँखाको मेकअप तथा चिकित्सको सल्लाहबिना औषधिको प्रयोग गर्नु हुँदैन । आँखाको हेरचाह गर्दा पनि आँखा धेरै सुन्निने, धेरै दुख्ने, पीप या रगत निस्किने तथा ज्वरो आउने लक्षण देखिनासाथ ढिला नगरी चिकित्सककहाँ जानुपर्छ । आनो सर्न सक्ने हुँदा बिरामीको आँखा जुधाउन र आँखालाई छोएको हातको विशेष ध्यान दिनुपर्छ ।

Loading...