fbpx

आज तुलसी विवाह : यस्ता छन् तुलसीका धार्मिक तथा औषधीय गुणहरू

विराटनगर, २२ कात्तिक । हिन्दूहरूको लागि अत्यन्तै पूजनीय तथा उपयोगी वनस्पति तुलसी संसारको जुनसुकै भागमा पनि पाइन्छ । मान्छेहरूले तुलसीलाई दिनदिनै पूजा गर्ने गर्छन् । तुलसीमा धार्मिक तथा औषधीय गुणहरू हुने गर्दा यसले मानव जीवनमा निकै महत्व राख्छ ।

तुलसीका पात, हाँगा, फूल, जरा र बीउ सबै उत्तिकै महत्वपूर्ण छन् । तुलसी रोपेको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न नसक्ने विश्वाश गरिन्छ । रेक देवकार्यमा अर्पण गरिने प्रशादहरुमा तुलसीको प्रयोग गरिनुका साथै मृत्युपछि देह निर्माणको प्रतीकस्वरूप गरिने पिण्ड, श्राद्वादि कार्य र दिवङ्गत पितृहरूले आफन्तहरूबाट प्राप्त गर्ने पिण्डमा तुलसीको मञ्जरी राख्ने गरिन्छ । यस्तो काममा तुलसी नराख्दा विषाक्त र जूठो रूपमा लिइने गरिन्छ ।

दीर्घ रोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त हुन सक्ने हुँदा तुलसीमा सयौँ रोग निको गर्ने क्षमता रहेको चिकित्सकहरूको भनाइ रहेको छ । तुलसीको नियमित सेवनले अरुचि हटाएर भोक जगाउने, खानामा रुचि बदाउने तथा पाचनक्रियामा सुधार ल्याई झाडा, वान्ता र वाकवाकी पनि रोक्ने गर्छ । तुलसीले मुटु तथा मृगौलामा हुने विभिन्न रोग लाग्न नदिने क्षमता राख्ने हुँदा मानव जीवनमा तुलसीको महत्व एकदम बढ्न गएको हो ।

मुटुरोग भएका मानिसहरूले बिहान खाली पेटमा दूध र तुलसीको सेवन गर्नु राम्रो मानिन्छ । तुलसीको सेवनले ज्वरो तथा निमोनिया लाग्नबाट बचाउन सक्छ र मलेरिया हुन दिँदैन । हालै भएको एक अनुसन्धानबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसंग लड्न सक्ने क्षमता भएको प्रमाणित भएको छ । मुखको दुर्गन्ध हटाउन सहयोग गरेर मुखलाई स्वास्थ्य राख्छ ।

नियमित रूपमा बिहान बेलुका तुलसीको पात खाएमा मुखको दुर्गन्ध बिस्तारै हटाउँदै जान्छ । तुलसीको नियमित सेवनले शीघ्र स्खलन, स्वप्न दोष तथा विभिन्न यौनजन्य रोगबाट छुटकारा पाउन मदत गर्छ । घाउ भएको ठाउँमा तुलसीको पातलाई पिसेर बेसार मिसाइ लगाउँदा घाउ चाँडै निको भइ दाग बस्दैन ।

Loading...