fbpx

स्वारेजले बार्सिलोना छोडेर एमएलएस लिग खेल्न सक्छन् : सहकर्मी लोडेइरो

एजेन्सी, २२ कात्तिक । उरुग्वेका मिडफिल्डर निको लोडेइरोले आफ्ना सहकर्मी लुइस स्वारेजे बार्सिलोना छोड्न सक्ने बताएका छन् । एमएलएस स्कोरर डटकमसँगको कुराकानीमा ३० वर्षीय उनले स्वारेज बार्सिलोनाबाट सर्न चाहेको बताएका हुन् ।

aa

स्ट्राइकर स्वारेजले एमएलएस लिग खेल्न चाहेको लोडेइरोको भनाइ छ । सन् २०१४ बाट बार्सिलोनामा खेलिरहेका स्वारेजले बार्सिलोना छोडेर एमएलएस लिगबाट खेल्न चाहेको उनको भनाइ छ । हाल सिटल साउण्डर्सबाट एमएलएस लिग खेलिरहेका उनले भने, ‘उनी (स्वारेज) बार्सिलोना छोडेर यहाँ आउन चाहन्छन् । उनले मलाई हाम्रो लिगबारे सधैं सोधिरहेका हुन्छन् ।’

‘उनको सपना बार्सिलोनाबाट खेल्नु थियो’, उनले भने, ‘उनी अहिले उच्च स्तरमा खेलिरहेका छन् र त्यहाँ आराम महसूस गरिरहेका छन् । तर, उनी चाँडै नै एमएलएसको खेलाडी हुनेछन् । उनी यो लिग मन पराउँछन् । उनले यहाँ सिटल साउण्डर्सबाटै पनि खेल्न सक्नेछन् ।’

३२ वर्षीय स्वारेजको बार्सिलोनासँग सन् २०२१ सम्मको सम्झौता छ । उनी सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका हुन् । स्वारेजसँग आफ्नो फोनमा कुरा भइरहने बताउँदै उनले भने ‘म प्रायः उनीसँग बोल्छु । उनले मलाई सात वर्षभित्र आफू यहाँ आउने बताएका छन् । यो उनको भनाइ हो, तर उनको सम्झौता सकिएपछि उनी यहाँ आउँछन् ।’

Loading...