fbpx

मदिराको सुरमा बुबाको हत्या गरेको अरोपमा एक जना थुनामा

सप्तरी, २२ कात्तिक । सप्तरीमा मदिराको सुरमा बुबाको हत्या गरेको अरोपमा एक जना थुनामा राखिएको छ । सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको हो ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो. गफुर पमरियाको हत्या गरेको आरोप छ ।

हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको जनाएको छ । मृतकका भाई मो. इसराइल पमरियाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आरोपित विरुद्ध गत असोज २० गते उजूरी दिएका थिए ।

मदिराको सुरमा कुटपिट गरी गफुरको हत्यापछि फरार रहेका जमुनी र नइमलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो । छिमेकी फुल मोहम्मदका अनुसार दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले असोज १९ गते राति बुबासँग झगडा गरी कुटपिट गर्दा गफुर घाइते भएका थिए ।

कुटपिटबाट घाइते गफुरलाई राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । आरोपित नइमले भने दाजु मो. हकिम पमरियासँग भइरहेको आफ्नो झडप छुट्याउन आएका बुबा अचानक लडेर मृत्यु भएको बताएका थिए । रासस

Loading...