fbpx

तुलसीको विवाह गरि हरिबोधनी एकादशी मनाइँदै

विराटनगर २२ कात्तिक । तुलसीको पूजा आरधना गर्दै आज हरिबोधनी एकादशी पर्व मनाइँदैछ । कार्तिक शुक्ल एकादशीका दिन हरिबोधनी एकादशी मनाइन्छ ।
हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
ठुली एकादशीको नामले लोकप्रचलित यसदिन अन्न खान नहुने विश्वास गरिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाो तथा बाँसको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले बताए ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।

Loading...