fbpx

पत्रपत्रिकामा देश : कालापानीमा जमिन, सुस्तामा जीवन खोसियो

विराटनगर २२ कात्तिक । काठमाण्डौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेको र नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीको कारण आफ्नै भूमिमा सास्ती खेप्नु परेको समाचार प्रमुखताका साथ छापेका छन् ।

‘कालापानीमा जमिन, सुस्तामा जीवन खोसियो’ शिर्षकमा नयाँ पत्रिका दैनिकमा मुख्य समाचार छ । ‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शिर्षकमा मुख्य समाचार छापेको छ । यस्तै ‘पश्चिम सीमामा सधैं समास्या’ शिर्षकमा नागरिक दैनिकले समाचार छापेको छ ।

भारतले नेपाली भूमिलाई आफ्नो देखाउँदै जारी गरेको नयाँ नक्साका विषयमा सत्ता र प्रतिपक्ष दुबै एकै ठाउँमा देखिएका छन् । नेपालको भूमि अतिक्रमण आपत्तिजनक भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएकाछन् । यस्तै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ नक्सामा लचिलो बन्न नसक्ने प्रतिकृया दिए । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा चलाउने अधिकार कसैलाई नभएको बताए । अर्का पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भारतले एकपक्षीय नक्सा जारी गर्नु असह्य भएको बताए ।

नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोबास छ । तीमध्ये धेरैसँग लालपुर्जा छैन् । जोसँग लालपुर्जा छ तिनको जमिनमा खेती भने भारतीयले गर्छन् । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई सधैं त्रासमा राख्ने गरेका छन् । कहिले कुटपिट गर्ने कहिले घरमा नै आगो लगाइदिने गरेको नयाँ पत्रिकामा समाचार छ । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन सधैं आपतविपतमा छ ।

भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय व्यासी (सौका) समुदायको पवित्र धार्मीकस्थल हो । तर त्यहाँ उनीहरुलाई नै प्रवेश निषेध छ । त्यहाँ पस्न नपाएपछि भारतीय अर्धसैन्य बलले अतिक्रमण गरे भन्दा २ सय मिटरवरै एउटा मन्दिर बनाउन खोजेको भएपनि भारतीय सुरक्षाकर्मीले नदिएको समाचार कान्तिपुर दैनिकमा छ ।

कालापानी गाउँपालिका दार्चुलाको उत्तरी ब्यास गाउँपालिका १ नम्बरमा पर्छ । त्यसमुन्तिरको गाउँ छाङ्रुका बासिन्दालाई सहज बनाउन कालापानीमा काली मन्दिर बनाउन ब्यास नगरपालिकाले ४ लाख बजेट विनियोजन गरेको छ ।
भारतले भने भारतको सार्वभौम भूमिलाई सही ढंगले चित्रण गरेको प्रतिकृया दिएको छ । उसले नेपालसँगको सीमामा कुनै फेरबदल नगरेको जनाएको छ ।

Loading...