fbpx

पत्रपत्रिकामा प्रदेश : परीक्षण विना तरकारी भित्रिँदै

विराटनगर २२ कात्तिक । भारतीय सीमा क्षेत्रबाट बिषादीको विना परीक्षण तरकारी तथा फलपूmल नेपाल भित्रिने गरेको छ । सरकारले कडाई गरेपनि खुद्रा व्यापारीले साइकलमा राखेर बिषादी परीक्षण नै नगरी सहजै फलफूल तथा तरकारी नेपाल ल्याउने गरेका छन् ।

प्रदेश नम्बरको सीमाक्षेत्र विराटनगरको रानी, बुधनगर,मटरेवा, तारेगामा, यस्तै सुनसरीको भण्टाबारी र कोशी ब्यारेज नाकाबाट प्रहरीकै अगाडी विना परीक्षणको तरकारी भित्रिने गरेको स्थानीयले बताएको उद्घोष दैनिकमा समाचार छ । तरकारी व्यापारी रामचन्द यादवले भारतबाट तरकारी ल्याउँदा प्रहरीलाई प्रति साइकल ५० रुपैयाँ दिने गरेको बताए । कोशी व्यारेजमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रति साइकल ५० रुपैयाँ दिने गरेको उनको भनाई छ ।

छिन्ताङ हत्याकाण्डका सहिदलाई प्रदेश सरकारले हत्याकाण्डको ४० वर्षपछि प्रतिपरिवार ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेको समाचारलाई विराटनगरबाट प्रकाशित पत्रिकाले प्रमुखताका साथ छापेका छन् । उद्घोष दैनिकमा ‘छिन्ताङ हत्याकाण्डः ३८ वर्षमा सहिद, ४० वर्षमा राहत’ शिर्षकमा मुख्य समाचार बनाएको छ । ‘प्रदेश सरकारको निर्णय छिन्ताङ सहिदका परिवारलाई ५ लाख’ शिर्षकमा जनविद्रोह दैनिकले समाचार छापेको छ ।

यस्तै जनविद्रोह दैनिकमा राजश्व गुमाउँदै स्थानीय तह शिर्षकमा अर्काे समाचार छापेको छ । तत्काल ४६ वटा कानून आवश्यक रहेको समाचारमा उल्लेख छ । ती कानून नहुँदा ठुलो राजश्व नोक्सानी हुने भएको हो

मोरङका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले स्थानीय तहलाई व्यवस्थित सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम कानूनहरुको पहिचान गरेको छ । नेपालको संविधान २०७२ को अनुसूचि ८ अन्तर्गत सूचिकृत अधिकारहरुको प्रयोग गर्न तत्काल ४६ वटा कानून स्थानीय तहलाई आवश्यक रहेको निष्कर्ष निकाल्दै बैठकले साझा रुप्मा कानूनको मस्याौदा गर्ने निर्णय गरेको छ ।

बिहीबार विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको अध्यक्षतामा स्थानीय तह सरोकार साझा मञ्चद्वारा गठित उपसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

ब्लाष्ट टाइम्सले सुत्केरी श्रीमतीलाई अस्पतालमा छोडेर श्रीमान भागेको समाचार छापेको छ । झापा कन्काई कोटीहोमकी एलिसा मगरका पति पैसा खोजेर आउँछु भन्दै उनलाई अस्पतालमै छोडेर भागेका हुन् ।

कात्तिक ९ गते सुत्केरी व्यथा लागेपछि बिर्तामोडमा रहेको विएण्डसी अस्पताल भर्ना भएकी एलिसाका पति पैसा लिन भन्दै गएको तर फर्केर नआएपछि उनी विल तिर्न नसकेर अस्पतालमै अलपत्र परेकी छिन् । कात्तिक १० गते उनले शिशु जन्माएकी थिइन् । १० गतेनै एलिसाका श्रीमान् पैसा खोज्ने भन्दै हिडेका थिए । तर अहिलेसम्म उनी फर्केनन् ।

Loading...