fbpx

छिन्ताङ हत्याकाण्ड : ४० वर्षपछि सहिद परिवारलाई जनही पाँच लाख राहत दिने प्रदेश सरकारको निर्णय

वन निर्देशनालय धरानमा

विराटनगर, २१ कात्तिक । धनकुटाको छिन्ताङ हत्याकाण्डको ४० वर्षपछि सहिद परिवारलाई प्रदेश सरकारले जनही पाँच लाख राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले छिन्ताङ हत्याकाण्डमा मारिएका १६ सहिद परिवारलाई जनही पाँचलाखका दरले राहात उपलब्ध गराउने निर्णय गरेको हो ।

वि.स २०३६ साल कात्तिक २४ गतेदेखि २९ गतेसम्म धनकुटाको खोकुछिन्ताङमा १६ जनाको कम्युनिष्ट कार्यकर्ताको हत्या भएको थियो । हत्या काण्ड हुँदा धनकुटाका नेता स्वर्गीय सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । छिन्ताङ हत्याकाण्डमा मारिएकाहरुलाई संघीय सरकारले वि.स २०७४ सालमा सहिद घोषणा गरेको थियो ।

४० वर्षअघि हत्याकाण्ड भएको महिनामा बसेको प्रदेश सरकारको बैठकले सहिद परिवारलाई जनही पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

छिन्ताङमा तत्कालिन कम्युनिष्ट कार्यकर्ता गोपाल आनन्दी राई, श्रीमाया राई, भैरवबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेसलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाई, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द राईको हत्या भएको थियो ।

वन निर्देशनालय धरानमा रहने

प्रदेश मन्त्रिपरिषद बैठकले वन निर्देशनालयको कार्यालय धरानमा राख्ने निर्णय गरेको छ । बैठकले वन निर्देशकको जिम्मेवारी रवीन्द्र महर्जनलाई दिएको छ ।

बिहीबारको बैठकले प्रदेश लेखा इकाई कार्यालय मोरङ, झापा, पाँचथर, धनकुटा, ओखलढुंगा, र उदयपुरमा राख्ने निर्णय गरेको छ ।

Loading...