fbpx

अन्नपूर्ण हाम्रो गोल्डकप : रुपेन्देहीलाई पेनाल्टी सुटआउटमा हराउँदै चर्च ब्वाइज काठमाडौं सेमिफाइनलमा

विराटनगर २१ कात्तिक । चर्च ब्वाइज काठमाडौं झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार चौथो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाइज रुपेन्देहीलाई पेनाल्टी सुटआउटमा हराउँदै चर्च ब्वाइज काठमाडौंले अन्तिम चारमा स्थान बनाएको हो ।

डोमालाल राजवंशी रंगाशालामा भएको उक्त खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलमा पेनाल्टीको निर्णय लिइएको हो । पेनाल्टीमा काठमाडौंले ४–२ गोलले जित निकालेको हो ।

त्यसअघि खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा काठमाडौंले नै अग्रता बनाएको थियो । दोस्रो हाफको २०औं मिनेटमा एलन मगरको पासमा सन्तोष न्यौपानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, त्यसको २ मिनेट नबित्दै रुपेन्देहीका रमेश बाँस्तोलाले खेल बराबरीमा फर्काएका थिए । बाँकी समय र निर्धारित समय गोल हुन नसकेपछि खेलमा ट्राइबेकरको निर्णय लिइएको हो । यस जितसँगै काठमाडौंले सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसको सामना गर्नुपर्नेछ ।

यसअघि नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र भारतीय टोली सिक्किम आक्रामक क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै पुलिसले सेमिफाइनलमा स्थान बनाएको हो भने सिक्किमले बेलबारी ११ लाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै विभागीय टोली त्रिभूवन आर्मी क्लबले भारतको आसामिस क्लब मोलवेविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

जायन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल कात्तिक २५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Loading...