fbpx

तरकारीको मूल्य अकासियो, काउली किलोको एकसय रुपैयाँ

यज्ञ अधिकारी
विराटनगर, २१ कात्तिक । भान्सको अपरिहार्य वस्तु तरकारी हो । तरकारीबिना भान्सा चल्दैन । तर, भान्साको अतिआवश्यक तरकारीको मूल्य भने आकाशिएको छ ।

सामान्यतया दसैँ तिहारपछि तरकारीको मूल्य घट्नुपर्ने हो । तर तरकारी उत्पादनको सयम सुरु भए पनि बजारमा तरकारीको मूल्य घटेको छैन् । सामान्य परिवारलाई मौसमी तरकारी किनेर खानै मुस्किल पर्ने अवस्था छ ।

विराटनगरका बजारमा तरकारीको मूल्य अकासिएको उपभोक्तहरू बताउँछन् । विगतका वर्षहरूमा यो समयमा तरकारीको मूल्य घटनुपर्ने भएपनि बढ्दै गएको विराटनगरका ध्रुवप्रसाद बराल बताउँछन् । विराटनगरको गुद्री बजारमा भेटिएका उनी तरकारीको मूल्य वृद्धिले भान्सा महंगो बनेको बताउँछन् ।

विराटनगरको गुद्री बजारमा हरियो साग प्रतिकेजी ६० रुपैयाँभन्दा माथि छ । त्यसैगरी गाँजर प्रति केजी १ सय ६० रुपैयाँ छ । प्याजको मूल्य पनि प्रतिकेजी १ सय ५० रुपैयाँभन्दा माथि छ । बजारमा मटर कोसा प्रतिकेजी ६० रुपैयाँ छ । पुरानो आलु ३५ रुपैयाँ पर्दा नयाँ आलु ७० देखि ८० रुपैयाँ प्रतिकेजी छ ।

फूल कोपी प्रतिकिलो १ सय रुपैयाँ छ । विगत एक महिनायता तरकारीको वृद्धि भइरहेको छ । दसैँ, तिहार, छठलगायतका पर्व सकिएपछि बजारमा तरकारीको भाउ घट्नुपर्ने भएपनि बढ्दै गएको व्यापारीहरू स्वीकार गर्छन् ।

मौसमी तरकारीको भाउ वृद्धि भइरहेको बताउँछन्, तरकारी व्यापारी सुरज साह । तरकारीको भाउ बढ्ने क्रम जारी नै रहेको उनको भनाइ छ ।

सरकारसँग उपभोक्ता आक्रोशित

बजारमा तरकारीको भाउ बढेको भन्दै आमउपभोक्त सरकारप्रति आक्रोशित समेत बनेका छन् । उनीहरू सरकारले मूल्य नियन्त्रणको प्रयास नगर्दा बिचौलियाको चलखेल बढेको बताउँछन् ।

व्यापारी र किसानबीचमा रहेर बिचौलियाले आमउपभोक्तालाई अचाक्ली आर्थिक भार थपिदिएको उपभोक्ताको तेजप्रसाद उपाध्याय बताउँछन् । अचाक्ली बढेको बजारको तरकारीको भाउ घट्न अझै एक महिना लाग्ने व्यापारी कन्हैया साह बताउँछन् ।

राज्यले कृषि उत्पादनलाई प्रोत्साहन गरेपनि बजारको व्यवस्थान प्रभावकारी नहुँदा किसानले बजार भाउअनुसार मूल्य पाएका छैनन् । उपभोक्ता पनि चर्को मूल्य खेप्नु पर्ने अवस्था रहेको बताउँछन् ।

Loading...