fbpx

नेपालमा हुने भनिएको विश्वकप छनौटको खेल दशरथ रंगशालामा नहुने, भूटान सार्ने तयारी

विराटनगर, २१ कात्तिक । सन् २०२२ को कतार फिफा विश्वकप छनोटअन्तर्गत नेपालमा हुने भनिएको घरेलु खेल दशरथ रंगशालामा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै कुवेतविरुद्ध हुने उक्त खेल दशरथ रंगशालामा नहुने जनाएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी)को निरीक्षण टोलीले रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको बताएपछि आगामी नोभेम्बर १९ अर्थात् मंसिर ३ मा हुने भनिएको उक्त खेल नेपालमा नहुने भएको हो । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते दशरथ रंगशालामा हुने तय थियो ।

df

प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले रंगशालाको निरीक्षणपछि फिफा र एएफसीले दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्ने निर्देशन दिएको एन्फाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो खेल भूटानको चाङलिमिथाङ रंगशालामा गर्नको लागि एन्फाले फिफा र एएफसीसँग प्रस्ताव गरेको बताएको छ । २०७२ सालको भूकम्पका कारण पूर्णरूपमा क्षति भएको उक्त रंगशाला समयमै पुनःनिर्माण गर्न नसक्दा खेल खेलाउन असमर्थ भएको एन्फाले विज्ञप्तिमा भनेको छ ।

सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रूपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

aa

Loading...