fbpx

‘रियल मड्रिडको इतिहासमा रोनाल्डोजस्तै बेन्जेमा’

एजेन्सी, २१ कात्तिक । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना खेलाडी करिम बेन्जेमा क्लबको इतिहासमा क्रिस्टियानो रोनाल्डोजस्तै खेलाडी भएको बताएका छन् । च्याम्पियन्स लिगअन्तर्गत फराकिलो जित निकालेपछि पत्रकारसँग बोल्दै जिदानले यस्तो बताएका हुन् ।

च्याम्पियन्स लिगमा उपाधि दाबेदार मानिएको क्लब रियल मड्रिडले फराकिलो ६–० गोलको जित निकालेको थियो । बुधबार राति भएको समूह चरणको चौथो खेलमा रियलले टर्किस क्लब गालातासरेको पोस्टमा आधा दर्जन गोल गरेको हो ।

आफ्नै मैदान बर्नाबेउमा भएको उक्त खेलमा रियललाई जिताउन रोड्रिगोले ह्याट्रिक गर्दा करिम बेन्जेमाले २ तथा सर्जियो रामोसले एक गोल गरेका थिए । खेलको ४५औं मिनेटमा र ८१औं मिनेटमा गोल गरेका बेन्जेमाले एक असिस्ट गरेका थिए । उनै बेन्जेमाको विषयमा बोल्दै जिदानले बेन्जेमा रोनाल्डोजस्तै खेलाडी भएको बताए ।

aa

रोनाल्डोले रियल छोडेर गएपछि बेन्जेमा थप परिपक्व भएको जिदानको भनाइ छ । ‘बेन्जेमाको उपलब्धिले नै बोल्छ कि उनी कत्तिको क्षमतावान खेलाडी हुन् भनेर,’ जिदानले भने, ‘आक्रमणका लागि उनी टिमको अहम हिस्सा हुन् । उनले यो सहजै गर्छन् । जब रोनाल्डोले क्लब छोडेर युभेन्टस गए तबदेखि बेन्जेमा परिवर्तन भए, उनी परिपक्व भए । मैदानमा उनको उपस्थितिले नै सबैलाई प्रभाव पार्छ ।’

यस्तै जिदानले आफू करिमसँग धेरै नै खुशी भएको बताउँदै भने, ‘म उनीसँग धेरै खुशी छु । यो सत्य हो कि उनले युरोपयन कपमा ५० गोल गरेका अल्फ्रेडोलाई उछिनेका छन् । उनी अब रियलको इतिहासमा रोनाल्डोजस्तै छन् । बेन्जेमाले अविश्वनीय उपलब्धिहरू बनाइहेका छन् ।’

रियलले खेलको रोड्रिगोको गोलमा चौथो मिनेटमबाट नै अग्रता बनाएको थियो । सातौं मिनेटमा रोड्रिगोले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको १४औं मिनेटमा रियलले पाएको पेनाल्टीको अवसरमा कप्तान रामोसले गोल गरे ।

४५औं मिनेटमा बेन्जेमाले गोल गरेपछि पहिलो हाफभरि रियलले ४–० गोलको अग्रता बनाएको थियो । खेलको ८१औं मिनेटमा गोल गर्दै करिमले टोलीलाई फराकिलो अग्रता दिलाएका थिए । यस्तै खेलको इन्जुरी समयमा रोड्रिगोले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० गोलको फराकिलो जित दिलाएका थिए । यस जितसँगै समूह ‘ए’ को रियलले ७ अंक बनाएको छ । पराजित गालातासरे भने १ अंकसहित सो समूहको पुछारमा छ ।

Loading...