fbpx

सीमा मिचिएको विरोधमा नाकामा प्रदर्शन

विराटनगर, २१ कात्तिक । भारतको नयाँ नक्सामा नेपाली भू–भाग परेपछि विराटनगरमा पनि प्रदर्शन भएको छ । विराटनगरका युवाहरूले भारतीय सीमा नजिकै विराटनगरको रानीमा प्रदर्शन गरेका हुन् ।

बिहीबार सीमा नाका पुगेका युवाहरूले भारतको थिचोमिचो सहेर बस्न नसक्ने बताए । उनीहरूले भारतीय नक्सामा परेको नेपालका भू–भागहरू फिर्ता गर्न माग गरे । पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्प्याधुरालगायतको क्षेत्र भारतले आफ्नो नक्सामा समेटेपछि देशभर आन्दोलन भइरहेको छ ।

‘ब्याक अफ इन्डिया’को माग राख्दै प्रदर्शन गरेका युवाहरूले सीमा मिचिँदा गोर्खालीहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन् । भारतले नेपालको भू–भाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने प्रतिक्रिया दिएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लिपुलेक, कालापानी नेपालकै भएको दाबी गर्दै भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने बताएको हो । बुधबार जारी प्रेस विज्ञप्तिमा एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट रहेको जनाइएको छ ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सीमाना रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरूबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ छ ।’

सामाजिक सञ्जालमा चर्काे विरोध

नेपालको भू–भाग समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि भारतको विरोधमा सामाजिक सञ्जाल तातेको छ । सामाजिक सञ्जालमा भारतको तीब्र बिरोध भइरहेको छ । सर्वसाधरणदेखि राजनीतिक नेतृत्त्वले पनि भारतको कदमप्रति आपत्ति जनाएका छन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, भीम रावल, कमल थापा, धनराज गुरुङ, रामशरण महतलगायत नेताहरूले सामाजिक सञ्जालमा भारतको पछिल्लो कदमप्रति आपत्ति जनाएका छन् ।

Loading...