fbpx

छायांकन सुरु नहुँदै ‘प्रेमगीत ३’को मोसन टिजर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २१ कात्तिक । यस वर्षको बहुप्रतीक्षित फिल्म ‘प्रेमगीत ३’को मोसन टिजर सार्वजनिक भएको छ । फिल्मको छायांकन सुरु हुनु अगावै टिजरलाई ओयसआर डिजिटल पेजको युटुब च्यानेलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको मोसन टिजर पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाह गरेका अभिनेता प्रदीप खड्कालाई मात्र अताइएको छ । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्मको टिजरमा प्रदीपको योद्धा राजकुमारको अवतारमा प्रस्तुत गरिएको छ ।

२२ कार्तिकदेखि फिल्मको छायाँकन सुरु हुने भएको छ । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने भएका छन् ।

फिल्ममा प्रदिप फेरी पनि प्रेमको भूमिकामा रहेका छन् । फिल्ममा उनको बाल्यकालको भूमिकामा बाल अभिनेता अनुभव रेग्मी, पिताको भूमिकामा अभिनेता शिव श्रेष्ठ र भाइको भूमिकामा मनिष राउत रहेका छन् । फिल्ममा प्रदीपको जोडी नवअभिनेत्री क्रिस्टिना गुरुङ खड्कासँग बाँधिएको छ ।

फिल्ममा प्रदीप, क्रिस्टिना गुरुङ, अनुभव, शिव र मनिषका साथै बालकलाकार समृद्धी शाही ठकुरी, भिलेनको भूमिकामा निर्माता सेन, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशिर राणा तथा सुनिल थापालगायतका कलाकारहरूको अभिनय रहने भएको छ ।

नयाँ वर्षको छेको पारेर फिल्मलाई चैत्र २८ गते रिलिज गरिने तयारीमा रहेको छ । ‘प्रेमगीत’ को अघिल्ला दुई सिरिजमा चुलबुले र रुन्चे भूमिकामा देखिएका प्रदीपले यसपटक आफ्नो भूमिका दर्शकलाई फरक लाग्ने बताएका छन् ।

Loading...