fbpx

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : म्यानमारसँग भिड्दै नेपाल

विराटनगर, २१ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपालले म्यानमारविरुद्ध खेल्दैछ । म्यानमारसँग उसैको मैदानमा हुन लागेको यस खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ ।

aa

यो खेल म्यानमारको मन्डला थिरी स्टेडियमा हुनेछ । सन् २०२२ को कतार फिफा विश्वकप छनोटअन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेलअघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोली म्यानमारसँग खेल्न आइतबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

बलियो टिम म्यानमारसँग नेपालले पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि नेपालले म्यानमारसँग एकपटक प्रतिस्पर्धा गरिसकेको छ । तर, मैत्रीपूर्णतर्फ भने यो पहिलो भेट हो । फिफा वरियतामा नेपालभन्दा म्यानमार २० स्थान माथि छ ।

म्यानमारविरुद्ध खेल्ने टिममा भरत खवासले पनि स्थान बनाएका छन् । गत मार्चमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलपछि टोलीबाहिर रहेका भरतले म्यानमारसँगको खेलबाट पुनरागमन गरेका हुन् । यस्तै भरतसँगै गोलकिपर एलेन न्यौपाने पनि टोलीमा फर्किएका छन् ।

तर, टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ भने टोलीमा परेनन् । किरण भारतीय आइलिगको तयारीमा छन् । यस्तै पर्सिजा जकार्ताबाट इन्डोनेसियाको लिगमा व्यस्त रहेका मिडफिल्डर रोहित चन्द पनि टोलीमा परेनन् । नेपाली टोलीको गोलकिपरतर्फ विकेश कुथु, विशाल श्रेष्ठ र एलेन न्यौपाने रहेका छन् भने डिफेन्डरतर्फ सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

यस्तै मिडफिल्डमा सुनिल बाल, रवी पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्चेन तामाङ रहँदा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

Loading...