fbpx

‘मेरी कोम’ पछि सलमानको फिल्ममा सुनिल थापा

विराटनगर, २१ कात्तिक । नेपालका अभिनेता सुनिल थापा बलिउड फिल्ममा अनुबन्धित भएका छन् । बलिउड स्टार सलमान खानको प्रोडक्सन हाउसबाट बन्न लागेको फिल्म ‘क्वाथा’ मा उनको अभिनय रहने भएको हो ।

सलमानको फिल्ममा अभिनय गर्नका लागि फिल्मका निर्माण टिमसँग मौखिक सहमति भइसकेको थापाले बताए । लिखित सहमतिका लागि भने थापा भारत गएर गर्ने भएका छन् । फिल्ममा उनले मुखियाको भूमिका निर्वाह गर्ने भएका छन् । उक्त फिल्मबाट अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफले बलिउडमा डेब्यु गर्ने भएकी छन् ।

मणिपुर राज्यको कथा समेटिएको फिल्ममा इसाबेल र सलमानका ज्वाइँ आयुष शर्माको मुख्य भूमिका रहने भएको भारतीय मिडियाले बताएका छन् । चलचित्रको छायांकन डिसेम्बरबाट सुरु हुने छ । फिल्मलाई सन् २०२० मा प्रदर्शनमा ल्याउने तयारी रहेको छ ।

अभिनेता सुनिल थापाले बलिउड अभिनेत्री प्रियंका चोपडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’मा गरेको अभिनयका कारण चर्चा कमाएका हुन् ।

Loading...